३६ वर्षपछि छिमेकी क्लब रोमा र लाजियोबिच खेलाडी किनबेच 

रोम, (खेलाडी)- स्पेनिस फरवार्ड पेड्रो रोडरिग्वेज पछिल्लो ३६ वर्षमा एएस रोमाबाट लाजियो अनुवन्धित हुने पहिलो खेलाडी बनेका छन् । 

बिहीवार स्पेनका पूर्व अन्तर्राष्‍ट्रिय विंगर ३४ वर्षीय रोडरिग्वेज रोमाबाट लाजियो जाने भएसँगै दुई क्लबबीच ३६ वर्षपछि खेलाडी किनबेच भएको हो । यसअघि पछिल्लो पटक यि दुई क्लबबीच सन् १९८५ मा खेलाडी किनबेच भएको थियो । त्यसबेला गोलरक्षक एस्टुटिल्लो मल्गिओग्लिओ रोमाबाट लाजियोमा अनुबन्धित भएका थिए । 

२०१० को विश्‍वकप विजेता स्पेनिस टोलीका सदस्य रोडरिग्वेज २०२० मा तीन वर्षे सम्झौतासहित चेल्सीबाट रोमा भित्रिएका थिए । तर, उनी रोमाका नयाँ प्रशिक्षक जोजे माउरिन्होको रोजाइमा पर्न सकेनन् । प्रशिक्षक माउरिन्हो आएसँगै उनले प्रिसिजनका खेलमा पनि पहिलो रोजाईमा परेनन् । 

लाजियोले रोडरिग्वेजलाई ९ नम्बर जर्सी दिएको छ । लाजियोमा उनले चेल्सीमा सँगै काम गरेका प्रशिक्षक माउरिजियो सारीसँग फेरी एकपटक सहकार्य गर्नेछन् । 

गत सिजन रोडरिग्वेजले रोमाबाट ४० खेल खेल्दै ६ गोल गरेका थिए । चेल्सीअघि उनी बार्सिलोनामा थिए । उनले बार्सिलोनमा पाँच पटक स्पेनिस ला लिगा र तीन च्याम्पियन्स लिगको उपाधि चुमेका थिए ।