एन्फा चुनाव

नुवाकोट फुटबल संघको अध्यक्षमा चित्रकार निर्विरोध

काठमाडौं । जिल्ला फुटबल संघ नुवाकोटको अध्यक्षमा देवनारायण चित्रकार निर्विरोध निर्वाचित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को विधान र निर्वाचन निर्देशिकाअनुसार वैशाख ७ गते बुधबार तोकिएको निर्वाचन मितिमा आवश्यक पदमा मात्रै उम्मेदवारी दर्ता भएपछि चित्रकारको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

आगामी चार वर्षे कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा शनि चित्रकार, अच्युतराज महन्त गिरी र विजय गुरुङ निर्वाचित भए । यस्तै, सदस्यमा पूर्णमान चित्रकार, दिपकलाल चित्रकार, निरोज कुमार खड्गी, सुप्पल गुरुङ, रामकुमार कोइराला, गोविन्द श्रेष्ठ, श्रीकृष्ण आचार्य, मोहित तण्डुकार, रामकृष्ण लामा, सन्तोष खड्का चुनिएका छन् ।

एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् । 

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने तय भएको छ ।