किरन पाेलार्ड

अन्तर्राष्ट्रिय क्रिकेटबाट पोलार्डको सन्यास

चागुरामासा । वेस्टइन्डिजका सीमित ओभरका कप्तान किरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

पोलार्डले बुधबार सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

‘राम्रो सोचविचारपछि आज मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेको छु,’ पोलार्डले सामाजिक सञ्जालमा लेखेका छन्,’ अहिलेका युवाहरु जस्तै १० वर्षको उमेरदेखि ममा वेस्ट इन्डिजको प्रतिनिधित्व गर्ने मेरो सपना थियो । र, पछिल्लो १५ वर्षदेखि वेस्ट इन्डिजबाट प्रतिनिधित्व गर्न पाउँदा निकै गर्विलो महसुस गर्छु ।’

पोलार्डको सन्याससँगै वेस्टइन्डिजले यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी २० विश्वकप र अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि नयाँ कप्तानको चयन गर्नुपर्ने भएको छ ।

अर्को महिना ३५औं जन्मदिन मनाउने पोलार्डले वेस्ट इन्डिजबाट सन् २००७ को विश्वकपमा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । उनले एक सय २३ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा दुई हजार सात सय ६ रन र ५५ विकेट लिएका छन् । यस्तै, एक सय एक अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेट खेलेका पोलार्डले एक हजार पाँच सय ६९ रन बनाएका छन् । पोलार्डले वेस्ट इन्डिजबाट टेस्ट क्रिकेट भने खेलेका छैनन् ।