एएफसी च्याम्पियन्स लिग

एएफसी च्याम्पियन्स लिगमा पहिलो पटक महिला रेफ्री

बैंकक । एसियन क्लब फुटबलको शीर्ष प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको खेल पहिलो पटक महिला रेफ्री योसिमी यामासिताले खेलाउने भएकी छिन् । जापानकी यामासितासँगै असिस्टेन्ट रेफ्रीमा मकोटो बोजोनो र नाओमी तेसिरोगी बिहीबार हुने समूह ‘जी’ अन्तर्गत मेलबर्न सिटी एफसी र जिओन्नाम ड्रागन्सबीचको खेलका लागि नियुक्त भएका छन् ।

यी दुई टोलीबीचको खेल थाइल्यान्ड बैंककको पथुम थानी रंगशालामा साँझ ९ बजे हुनेछ ।  

यसअघि यी तीन महिला रेफ्रीको टोली मलेसियन रेफ्री विदिया हबिबाह बिन्ती समसुरी र असिस्टेन्ट रेफ्री कोरिया गणतन्त्रकी किम क्योङ–मिनको टिममा समावेश भइसकेका थिए । जसमा किम क्योङ–मिनले पहिलो असिस्टेन्ट रेफ्री बन्दै कीर्तिमान बनाएकी थिइन् ।

क्योङ–मिनले अप्रिल १६ मा समूह ‘जे’ अन्तर्गत किटची एससी र चियानराइ युनाइटेडबीचको खेलमा असिस्टेन्ट रेफ्रीको भुमिका निभाएकी थिइन् ।

यी महिला रेफ्रीहरु पुरुष प्रयितोगिताको लागि नौलो अनुहार भने होइनन् । यसअघि यामासिता, बोजोना र तेसिरोगीले सन् २०१९ को एएफसी कपमा खेलाएका थिए । जुन महिला रेफ्रीले सञ्चालन गरेको पहिलो एएफसी कपअन्तर्गतको खेल थियो ।