एनआरटीले भित्र्यायो दीपेश घलेलाई

काठमाडौं, (खेलाडी)- दशरथ रंगशालाको छेवैमा रहेको शीर्ष डिभिजनको क्लब न्युरोड टिम (एनआरटी)ले कात्तिकमा हुने भनिएको आगामी लिगका लागि मिडफिल्डर दीपेश घलेलाई अनुबन्धन गरेको छ ।

बिहीबार क्लबले दीपेश आफूसँग अनुबन्धित भएको जानकारी गराएको छ । गत सिजन ललितपुरको थ्री स्टार क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका दीपेशले यस सिजन एनआरटीबाट खेल्ने निर्णय गरेका हुन् । 

२२ वर्षीय दीपेशले एनआरटीमा सात नम्बरको जर्सी लगाउने छन् । गत सिजन एनआरटीबाट कप्तान प्रकाश बुढाथोकीले सात नम्बरको जर्सी लगाएका थिए । तर यसपाली प्रकाश कुपण्डोलको फ्रेन्ड्स क्लब सरुवा भएकाले उनको जर्सी दीपेशलाई दिइएको हो । 

अनुबन्ध भएसँगै क्लबले दीपेशसँग गत सिजनको झै उच्च प्रदर्शनको आशा गरेको छ । 

‘गत सिजन उनको प्रदर्शन उच्च स्तरको थियो । उनले त्यही प्रदर्शन आगामी सिजनमा पनि जारी राख्‍ने हामीले आशा गरेका छौं,’ क्लबले भनेको छ । 

यस सिजन क्लबले पुराना खेलाडीलाई निरन्तरता दिँदै केही नयाँ खेलाडी समेत सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान एवं पूर्व प्रशक्षिक राजुकाजी शाक्यको प्रशिक्षणमा रहने एनआरटीले विदेशी खेलाडीको कोटामा दुई प्रभावशाली खेलाडी अनुबन्धन गरेको छ । 

पहिलो पटक आयोजना भएको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्सका लागि प्रभावशाली प्रदर्शन गरेका मिडफिल्डरद्धय मेसौके ओलुमोउ र स्टेफन समिरलाई टोलीमा भित्र्यासकेको छ । 

त्यस्तै एनआरटीले थ्री स्टार तथा मनाङ मस्र्याङ्दीका पूर्व फरवार्ड रञ्‍जन विष्‍टलाई पनि अनुबन्ध गरेको छ । रञ्‍जनले गत सिजन मनाङबाट खेलेका थिए । गत महिना मात्रै क्लबले एएफसी लाइसेन्स प्रक्रियामा जान ल्याव स्कुलसँग सम्झौता गरेको थियो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शिर्ष डिभिजनको लिग कार्तिक २९ गतेबाट सुरु गर्ने बताएको छ । विजेताले ७५ लाख रुपैयाँ पाउने लिगमा उपविजेताले ५० लाख रुपैयाँ पाउँनेछ । राउन्ड रोबिन पद्दतिमा हुने लिगका सहभागि १४ टोलीमध्ये पुछारमा रहने दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।