केन टोटेनह्‍यामको अभ्यास सिविरमा फर्कँदै

लन्डन, (खेलाडी)- इङलिस प्रिमियर लिगअन्तर्गत उल्भसविरुद्धको खेलअघि ह्‍यारी केन टोटेनह्‍यामको मुख्य अभ्यास सिविर पुग्‍ने प्रशिक्षक नुनो इस्पिरिटो सान्टोले बताएका छन् । 

केनको भविश्यमाथि अहिले फुटबल बजारमा विभिन्‍न चर्चा हुन थालेका छन् । इङल्यान्डका कप्तान केन स्वयम टोटेनह्‍याम छोडेर प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी जान चाहेको समाचार पनि सार्वजनिक भइरहेका छन् । 

युरोपा कन्फरेन्स लिगको पहिलो लेगअन्तर्गतको खेलमा बिहीबार राति उनको टोली टोटेनह्‍याम पाकोस डी फेरेइरासँग १-० को नतिजामा स्तब्ध हुँदा स्टार फरवार्ड केन अनुपस्थित थिए । यो अनुपस्थितीले पनि उनको भविश्यवारे थप टिका टिप्पणी हुन थालेका छन् ।

फिट्नेसमा थप सुधार ल्याउनका लागि उनी इङल्यान्डको टिममा नै छन् । तर टोटेनह्‍यामका मुख्य प्रशिक्षक सान्टोले आइतबार उल्भसको भ्रमण गर्नुअघि शुक्रबार नै केन क्लबको मुख्य अभ्यासमा फर्किइसक्ने बताए । 

‘उनले आज पनि अभ्यास गरेका छन् । इङल्यान्ड टिममा बसिरहेका खेलाडीको समूहसँग उनले अभ्यास गरेका हुन्,’ कन्फरेन्स लिगमा स्तब्धतापूर्ण हार भोगेपछि सान्टोले पत्रकारहरुसँग भने, ‘उनले भोली पनि अभ्यास गर्नेछन् । हामी फर्किएपछि शुक्रबार उनी टिमसँगै अभ्यासका लागि फर्किनेछन् ।’

सान्टोले गत आइतबार प्रिमियर लिगअन्तर्गतको खेलमा साविक विजेता सिटीलाई पराजित गर्दाको टोलीबाट बिहीबार ११ परिवर्तन गरेका थिए । अर्थात बिहीबार उनले पूरै नयाँ टिम मैदान उतारेका थिए । यस क्रममा उनले भर्खरैमात्र अनुबन्ध गरेका खेलाडीहरु क्रिस्टियन रोमेरो, ब्रायन गिल र पियरलुइजी गोलिनीलाई मैदान उतारेका थिए ।
‘मेरो विचारमा गोलिनीले राम्रो खेले । उनको प्रदर्शन एकरुपको थियो र उनले आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गरे । गोलको कुरा गर्ने हो भने त्यो वान भर्सेज वानको अवस्था थियो । हामीलाई थाहा छ, त्यो भनेको गोलकिपरका लागि अत्यन्तै कठिन अवस्था हो,’ सान्टोले भने, ‘क्रिस्टियन रोमेरोले पनि राम्रो खेले । हामीले आफ्ना रक्षकहरुबाट चाहेजस्तै प्रतिबद्ध प्रदर्शन उनले गरेका थिए । यसैगरी ब्रायन गिलले पनि राम्रो सुरुआत गरेका छन् । म नयाँ खेलाडीको प्रदर्शनबाट सन्तुष्‍ट छु ।’