इटालियन सिरी ए

रेफ्रीले उपाधि दौडमा रहेको टोलीलाई साथ दिएः माउरिन्हो

मिलान । इटालियन सिरी ‘ए’ मा सोमबार नेपोलीसँग १-१ को बराबरीमा रोकिएपछि एएस रोमाका प्रशिक्षक जोसे माउरिन्होले खेल पदाधिकारीहरुको व्यवहारले लज्जित भएको प्रतिक्रिया दिएका छन् ।

माउरिन्होले आफूहरुले पेनाल्टीका अवसर पाउनु पर्ने र नेपोलीका एक खलाडीले रातो कार्डको दर्शन गर्नु पर्नेमा रेफ्रीले आफूहरुको विपक्षमा निर्णय दिएको बताए ।

नेपोली ३३ खेलमा ६७ अंकसहित तालिकको तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको एसी मिलान र दोस्रो स्थानको इन्टर मिलान भन्दा क्रमशः चार र दुई अंक कम हो । रोमा भने ५८ अंकसहित पाँचौ स्थानमा छ । 

माउरिन्होले रेफ्रीहरु सिरी ‘ए’ को उपाधि दौडमा रहेका टोलीको पक्षमा लागेको आरोप समेत लगाए ।

११औं मिनेटमा लारेन्जो इन्सिग्नीको पेनाल्टी गोलमा नेपोलीले अग्रता लिएको थियो । ७९औं मिनेटमा फुजाटो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि रोमाले १० खेलाडीमा सीमत हुँदै खेलको अन्त्य गरेको थियो । 

इन्जुरी समयको पहिलो मिनेटमा  स्टेफन एल सारावेको गोलमा रोमाले हारको संकट टारेको थियो । 

‘नेपोली उपाधि दौडमा छ । तर हामी त्यो दौडबाट पहिले नै बाहिरिसकेका छौ’, माउरिन्होले भने, रेफ्रीहरुले किन उपाधि दौडमा रहेको टोलीका पक्षमा निर्णय दिन्छन् । अन्य टोलीलाई सधै किन निशाना बनाइन्छ । रेफ्री डी पाउलोले नेपोलीका रक्षक एलेसान्ड्रो  जानोलीलाई हाम्रा खेलाडी निकोलामाथि खराब फाउलका बाबजुद रातो कार्डको दर्शन गराएनन । त्यस्तै हामीले स्पष्ट पेनाल्टीको अवसर पाए पनि त्यो दिइएन । त्यसैले उनीहरुको व्यवहारले म लज्जित छु । सबै टोलीलाई समान इज्जत दिनुपर्छ ।'