विवाइसी महिला गोल्डकप

मुख्यमन्त्री विवाइसी महिला गोल्डकपः सावित्राको ह्याट्रिकप्रेरित एपिएफ सेमिफाइनलमा

धनगढी । सावित्रा भण्डारी (साम्बा)को ह्याट्रि प्रेरित विभागीय टोली एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाे छ । सोमबार विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै एपिएफ क्लब अन्तिम चारमा पुगेको हो ।

सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

एपिएफको सानदार जितमा सावित्रा भण्डारीले पाँच गोल गरिन् । त्यस्तै अनिता बस्नेत सविता राना मगर र सरु लिम्बुले एक एक गोल गरिन् । पहिलो हाफको ३६औं मिनेटमा पहिलो गरेकी सावित्राले खेलको ५१औं मिनेटमा दोस्रो ७४औं मिनेटमा तेस्रो ७९औं मिनेटमा चौथो र ९० औं मिनेटमा पाँचौ गोल गरिन् । अनिताले खेलको ६२ औं मिनेटमा सरुले ७५औं मिनेटमा र सविताले ८९औं मिनेटमा गोल गरिन् । खेलमा पाँच गोल गरेकी एपिएफकी सावित्रा भण्डारी ओम्यान अफ द म्याच भइन् । 

वनदेवी युवा क्लबको आयोजनमा भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक वनदेवी युवा क्लब र कालिका स्पोर्टस एकेडेमी चितवन प्रतिस्पर्धा गर्नेछन् ।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियाेगिताको विजेताले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ ।