सुर्खेत जिल्ला फुटबल संघ

सुर्खेत जिल्ला फुटबल संघको चुनावमा रविनले भाग लिन नपाउने

काठमाडौं । जिल्ला फुटबल संघ सुर्खेतको भोलि हुने तय भएको निर्वाचनका लागि शिरमोर युवा क्लबको प्रतिनिधित्व गरेका रविन चन्दको मनोनयन अखिल नेपाल फुटबल संघ (एन्फा)ले अस्वीकार गरेको छ ।

एन्फाको सदस्य संस्था सुर्खेत जिल्ला फुटबल संघको आगामी चार वर्षे कार्यकालका लागि मंगलबार चुनाव हुने कार्यसूची छ । तर, चन्दको मनोनयननै स्वीकृत नभएपछि भोलिको चुनाव अन्योलमा परेको छ ।

एन्फा सचिवालयले सुर्खेत निर्वाचनका लागि खटाएका केन्द्रीय पर्यवेक्षक भरत बुडथापालाई सम्बोधन गर्दै गरेको पत्रमा ‘कुनै पनि एक सदस्य संस्थाबाट प्रतिनिधि भए पश्चात अन्य सदस्य संस्थाको प्रतिनिधित्व गर्न नपाइने भएकाले रविन चन्दले मनोनित भएर आउन नमिल्ने’ उल्लेख गरिएको छ ।

यद्यपि, यो विषयमा अध्यक्ष पदका आकांक्षीको रूपमा चर्चा भइरहेका चन्दले आफूले भोलिको चुनावमा सहभागी हुन पाउनु पर्ने बताएका छन् ।

यसअघि एन्फाको केन्द्रीय निर्वाचनका लागि चैत २४ गते हुने तय भएको सी डिभिजनको प्रतिनिधि छनोटको प्रक्रिया स्थगित भएको थियो । त्यस दिनका लागि आरसी ३२ को प्रतिनिधित्व गर्दै चन्द एन्फा परिषरमा उपस्थित थिए ।

तर, त्यो दिन छनोट प्रक्रिया नै स्थगित भएको थियो । नयाँ मितिमा सी डिभिजन लिगबाट प्रतिनिधि छनोटको चुनाव वैशाख २ गते हुँदा संशोधित नामावलीमा चन्दको नाम छैन ।

उनको स्थानमा नाम परिवर्तन गरी आरसी ३२ बाट सुनिल देवकोटाले मताधिकार लिएर आएका थिए ।

‘आरसी ३२ बाट मताधिकार अर्कैले लिइसकेको छ, र सी डिभिजन लिगको चुनावका लागि सार्वजनिक भएको अन्तिम नामावलीमा नै मेरो नाम छैन भने मेरो मनोनयन शिरमोर युथबाट अस्वीकृतको कुनै कारण देखिँदैन,’ चन्दले खेलाडीसँग भने, ‘सी डिभिजन लिगको चुनावमा आरसी ३२ बाट भोट नै अर्कै व्यक्तिले हालेको छ । निर्देशिका अनुसार मैले पाउनु पर्ने हो ।’

यद्यपि, एन्फाका महासचिव इन्द्रमान तुलाधरले आर ३२ को अध्यक्ष भएकाले अर्को क्लबको प्रतिनिधित्व गर्न नपाउने बताए ।

‘यसअघि संकटा क्लबमा आवद्ध भएका कारण सुरेन्द्र सिख्राकारको रेफ्री कमिटिको मनोनयन पनि अस्वीकृत भएको थियो,’ महासचिव तुलाधरले खेलाडीसँग भने, ‘त्यसैले रविन चन्दले पनि पाउने कुरै हुँदैन ।’