लाैटाराे मार्टिनेज

आफ्नो करियरको चर्चाप्रति निराश मार्टिनेज

रोम । लौटारो मार्टिनेजले करियरको बारेमा भइरहेको चर्चाबाट आफू निकै निराश रहेको बताएका छन् ।

शुक्रबार इटालियन सिरी ‘ए’ अन्तर्गत स्पेजियाविरुद्ध ३–१ को जित निकाल्दा एक गोल गरेका मार्टिनेजले खेलपछि आफ्नो भविष्यबारे भइरहेको चर्चाप्रति निराश पोखेका हुन् ।

मार्टिनेज र इन्टरबीचको सम्झौता अर्को वर्ष सकिँदै छ । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मार्टिनेजले इन्टर छोड्ने खवर सार्वजनिक गरिसकेका छन् ।

‘मानिसहरु मेरो बारेमा धेरै चर्चा गरिरहेका छन्, जुन मलाई मन पर्दैन,’ मार्टिनेजले भने, ‘मैले इन्टरमा सधैँ मेरो उत्कृष्ट दिएको छु । म मेरो सतप्रतिशत दिन्छु । पक्कै पनि बेन्चमा बस्न कुनै पनि खेलाडीलाई मन लाग्दैन । म मेरो काममा केन्द्रित छु । र, म अफवाह फैलाउनेहरुको सबै कुरामा ध्यान दिन्न ।’