प्रतिभा माली

प्रतिभाले एनभिए भलिबल गुमाउने

काठमाडौं । न्यु डायमन्ड स्पोर्टस् क्लबकी मुख्य स्पाइकर प्रतिभा मालीले वैशाख १८ गतेदेखि सुरु हुने आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता नखेल्ने बताएकी छिन् ।  

न्यु डायमन्डकी मुख्य खेलाडी प्रतिभाले यो वर्ष धेरै प्रतियोगिता खेलेका कारण केही समय आराममा बस्ने खेलाडीसँगको कुराकानीमा बताइन् ।

‘मेरो घुँडाको चोट पुनः बल्झिएर नखेल्न लागेको हैन । प्रतियोगिताहरु निरन्तर खेलेको भएर घुँडालाई आराम दिनका लागि यो प्रतियोगिता नखेल्ने सोच बनाएको छु,’ उनले भनिन्, ‘घुँडाले आराम मागिरहेको छ । त्यति ठुलो समस्या हैन ।’

प्रतिभा अहिले सानेपास्थित एमबीएस ट्रान्सफर्मरमा थेरापी गराइरहेकी छिन् ।

वर्ष २०७८ मा घरेलु महिला भलिबलमा भएको प्रतियोगिताहरुमा प्रतिभा सम्मिलित न्यु डायमन्डले असोजमा भएको छैटौं एनभिए च्याम्पियनसिप,  फागुनमा झापामा भएको दमक नगरपालिका कप र चितवनको लोकबहादुर पुन स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको थियो ।

यो पटक प्रतिभाबिना नै कोर्टमा उत्रिने योजना बनाएको साविक विजेता न्यु डायमन्डका प्रशिक्षक राईले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको क्रममा प्रतिभालाई घुँडामा समस्या भएको हुनसक्ने खेलाडीलाई बताए ।

‘पीएम कपमा हरियाणा स्र्पाेट्स क्लबसँग खेल्दा स्पाइक हानेर ल्याड गर्दा लडेकी थिइन् । हामी सबै डराएका थियौ तर, उनी उठेर खेल्न थालिन् । केही भएको रहेनछ भन्ने सोचका थियौ तर, घुँडाको लिगामेन्ट च्यातिएको डाक्टरहरुले भनेका छन्,’ राईले भने, ‘डाक्टरले प्रतिभालाई दुईदेखि तीन महिना पुरा आराम गर्नुपर्ने सुझाव दिएका छन् ।’

चैत दोस्रो साता नेपालगञ्जमा सम्पन्न भएको पीएम कपमा न्यु डायमन्ड चौथों भएको थियो ।

२०७६ माघ १० गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा भएको यहीँ प्रतियोगिताको पाँचौं संस्करणको एपिएफसँगको फाइनलमा प्रतिभा घाइते भएकी थिइन् ।

त्यसपछि करिब एक वर्ष कोर्ट बाहिर रहेकी प्रतिभाले सोही प्रतियोगिताको छैटौं संस्करणमा पुनरागमन गर्दै डायमन्डलाई लिग च्याम्पियन बनाएकी थिइन् ।

प्रतिभासँगै न्यु डायमन्डलाई झरनाको अभाव

आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता प्रतिभा मालीसँगै झरना श्रेष्ठको अभाव टोलीलाई खड्किने न्यु डायमन्ड स्पाेर्टस् क्लबका प्रशिक्षक कुमार राईले बताएका छन् ।

महिला भलिबलको उदयीमान खेलाडीको रुपमा परिचित झरनाले घरायसी समस्या देखाउँदै भलिबल नखेल्ने निर्णय गरेकी थिइन् ।

‘यो पटक प्रतिभा र झरना नै छैनन् । एकजना नहुँदा पनि केही हुँदैनथ्यो तर, दुवैजना नहुँदा केही गाह्रो हुनेछ,’ प्रशिक्षक राईले भने, ‘साविक विजेता हौ, उपाधि जोगाउन गाह्रो छ । उनीहरु टोलीमा नहुँदा सलिना बुढा मगर र जेनिशा विश्वकर्माले स्थान पाएका छन् ।’

यस्तै, झरनाले रहरलेभन्दा पनि घरायसी समस्याका कारण भलिबल नखेल्ने कठिन निर्णय लिन बाध्य भएको बताइन् ।

वि.सं २०७४ सालदेखि न्यु डायमन्ड स्र्पाेटस् क्लबबाट भलिबल खेल्न सुरु गरेकी झरनाले आफ्नो उत्कृष्ट प्रदर्शनमा क्लबलाई धेरै उपाधि दिलाएकी छिन् । यस्तै, क्लबका प्रशिक्षक राईले झरना टोलीकी महत्वपूर्ण सदस्य भएको बताउँदै आएका थिए ।

प्रतिभा र झरनाको अनुपस्थितिमा न्यु डायमन्डले सलिना र जेनिशासँगै निशा महतोलाई प्रतियोगिताको लागि तयार गरिरहेको राईले बताए ।

सलिनाले गत वर्ष भएको एनभिए च्याम्पियनसिपबाट भलिबलमा पाइला टेकिसकेकी छिन् । यता जेनिशा र निशा भलिबलमा नयाँ खेलाडी हुन् ।