पर्सा जिल्ला फुटबल संघ

जिल्ला फुटबल संघ पर्साको नयाँ कार्यसमिति सर्वसम्मत

काठमाडौं । जिल्ला फुटबल संघ पर्साको नयाँ कार्यसमिति अनिल कुमार कलवारको नेतृत्वमा सर्वसम्मत चयन भएको छ । शनिबार बिहान भएको चुनावी अधिवेसनबाट कलवारको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)बाट पर्यवेक्षकको रूपमा पर्सा पुगेका दावा लामाले जानकारी दिए ।

कलवारको अध्यक्षतामा चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा दीपक साह कानु, हेमन्त चौरासिया, इश्वर चन्द यादद र सदस्य पदमा सरोज यादव, राजेश कुमार पटेल, मगनारायण प्रसाद कुर्मी, दीपेन्द्र ताम्राकार, मानदेव हजारा, अरुण महतो, संजीव कृष्ण थापा, अलि अस्कर हवारी, सर्वेन्द्र कुमार चौरासिया, वेद प्रकाश कुर्मीसँगै महिला सदस्यमा मिहिका थापा चुनिएको लामाले बताए ।

यसअघि काभ्रे, भोजपुर, कञ्चनपुरलगायतका जिल्लाको पनि नयाँ कार्यसमिति चयन भइसकेको छ । एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने तय भएको छ ।