इटालियन सिरी ए

मिलान शीर्ष स्थानमा

मिलान । रेलिगेशनबाट जोगिन संघर्षरत रहेको जिनोवामाथि २-० को जितसहित एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि शुक्रबार सम्पन्न खेलमा इन्टर मिलानले स्पेजियालाई ३-१ ले हराउँदै सिरी ‘ए' को शीर्ष स्थानमा उक्लिदै मिलानलाई एक अंकले पछि पारेको थियो ।

जिनोवामाथिको जितसहित मिलानले शीर्ष स्थानमा दुई अंकको अगता लिएको हो । मिलानले पछिल्लो तीन खेलमा निकालेको यो पहिलो जित हो । मिलानको ३३ खेलमा ७१ अंक छ भने इन्टरको ३२ खेलबाट ६९ अंक छ । 

११औं मिनेटमा राफेल लियोको गोलमा मिलानले अग्रता लिएको थियो । खेल सकिन तीन मिनेट बाँकी रहँदा जुनियर मेसियासले मिलानको अग्रता दोब्बर पारेका थिए ।

इन्टरले भने स्पेजियामाथि सहज जितसहित मिलानमाथिको दबाब कायम राखेको हो ।

३१औं मिनेटमा मार्सेलो ब्रोजोभिचको गोलमा इन्टरले अग्रता लिएको थियो । ७३औं मिनेटमा लौटारो मार्टिनेजले इन्टरको अग्रता दोब्बर पारेका थिए । 

८८औं मिनेटमा म्यागोरीको गोलमा स्पेजियाले खेलमा फर्कने संकेत गरेको थियो । इन्जुरी समयको तेस्रो मिनेटमा एलेक्सिस सान्चेजले इन्टरका लागि तेस्रो गोल गरे ।