एन्फा चुनाव

एन्फा चुनाव: बी डिभिजनबाट झम्सिखेल, वीरगंज र सामाजिक बाहिरिए

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को असार ६ गते हुने भनिएको केन्द्रिय निर्वाचनका लागि ‘बी’ डिभिजनका मताधिकार प्राप्त ११ क्लबको चयन भएको छ ।

सातदोबाटोमा शुक्रबार भएको ‘बी’ डिभिजन क्लबहरुको भेलाले १४ मध्येबाट एन्फाको केन्द्रिय कार्यसमिति चुनावका लागि मताधिकार प्राप्त ११ क्लब चयन गरेका हुन् । मतदानमार्फत ११ क्लब चयन गर्दा वीरगञ्ज युनाइटेड, सामाजिक युथ क्लब र झम्सिखेल युथ क्लब बाहिरिए ।

एन्फा निर्वाचन समितिका सदस्यसचिव बद्रि भट्टराई (दामोदर)ले जानकारी गराए अनुसार श्री भगवती, आरसिटी, मधयपुर युथ एसोसिएसन, टुसाल युवा, नयाा बस्ती, खुमलटार, बाँसबारी, चर्च ब्वाइज, सरस्वती, श्री कुमारी र ब्याइज युनियन क्लबले मताधिकार प्राप्त गरेका छन् ।

आगामी चार वर्षे कार्यकालका लागि असार ६ गते हुन लागेको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले नेतृत्वका लागि प्रत्यासी छन् । शेर्पा र नेम्वाङ दुवै प्यानलसहित नै चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

‘बी’ डिभिजन क्लबमध्येबाट दुवै पक्षका पाँच/पाँच कलबले मताधिकार पाएको दाबी गरिएको छ । जानकारहरुका अनुसार चर्च ब्वाइज, बाँसबारी, टोखा, खुमलटार र आरसिटी नेम्वाङ पक्षका क्लब हुन् भने टुसाल, सरस्वती, मध्यपुर, ब्वाइज युनियन र श्री कुमारी शेर्पा पक्षका क्लब हुन् । नयाँ बस्ती भने तटस्थ रहेको बताइएको छ ।

शुक्रबारै दिउसो चाँढोगरी भएको ‘सी’ डिभिजन क्लबहरुको चुनावमा नेम्वाङ पक्षले बाजी मारेको थियो । ‘सी’ डिभिजनका १४ मध्ये ९ क्लबले मताधिकार पाउनेमा नेम्वाङ पक्षका आठ र शेर्पा पक्षको एक क्लब सफल भएको दाबी गरिएको थियो ।