प्रेम एउटा मीठो आभाष अनि मीठो याद । कति सुन्दर हुन्छ नि माया भन्ने शब्द ? जसको परिभाषा आजसम्म न कसैले दिन सकेको छ न त खोज्दा नै भेटिन्छ ।
माया भन्ने कुरा न कसैले सोचेर नै हुन्छ न त कसैको वशमा छ । यो त एउटा आभाष हो अनि महसुस । यहीं मायाको धेरै उदाहरणीय प्रेमिल जोडी छन् । मुनामदन, लैलामजनु, रोमियो जुलियटजस्ता जोडी विश्वविख्यात छन् ।
|
यी सबैको कथा हामीले उपन्यास तथा किताबहरूमा पढ्दै आएका छौं । राजा महाराजाको पालामा आफ्नी रानीलाई खुसी पार्न वा प्रेम दर्शाउन महलहरू बनाइने चलन नै रह्यो । त्यसमध्ये भारतमा रहेको प्रसिद्ध ताजमहल, नेपालकै रानीपोखरी, रानीमहल हुन् ।
रानीमहललाई प्रेमको प्रतीकको रूपमा मानिन्छ । पाल्पाको तानसेनस्थित कालीगण्डकी नदीको किनारस्थित ठूलो चट्टानमा सन् १८९३ मा श्री ३ खड्ग शमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा यो महल बनाउन लगाएको किंवदन्ती छ ।
०००
रानीमहल एक राजाले रानीको सम्झनामा बनाए । यो त एउटा इतिहासको पाटो भयो । खण्डहर अवस्थामा पुगिसकेको यस रानीमहललाई पर्यटकीय आकर्षण दिन अहिले पुनर्निर्माण गरिएको छ ।
यही रानीमहलको आँगनमा एउटी महिलाले आफ्नो पतिको सम्झनामा भलिबल प्रतियोगिता गराएर रानीमहलको विशेषतालाई थप उजागर गर्ने प्रयास थालेकी छन् ।
प्रेमको प्रतीक मानिने रानीमहलको काखमा यसै साता सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
किन गरियो भलिबल ?
रानीमहलमा पहिलो पटक भएको उक्त बिच भलिबल प्रतियोगिता निरोज मास्केले आफ्नो प्रेमी भनौं या श्रीमान् सञ्जय मास्केको सम्झनामा आयोजना गरेकी हुन् ।सञ्जयको भौतिक शरीर त यस धर्तीमा छैन । तर, निरोजले श्रीमान सम्झनालाई जीवन्त पार्ने प्रयास गरेकी छन् । जसरी खड्ग शम्शेरले आफ्नी रानीको सम्झनामा रानीमहल बनाए ।
|
निरोज मास्के नेपाल भलिबल संघकी उपाध्यक्ष हुन् । उनले सञ्जय मेमोरियल फाउन्डेसन नै स्थापना गरेकी छन् । श्रीमानको सम्झनामा उनले धेरै प्रतियोगिता तथा कार्यक्रम गरिसकेकी छन् ।
प्रेमको प्रतीक रानीमहलमा बिच भलिबल आयोजना गर्नु पछाडि मुख्य कारण उनै सञ्जयका मीठा वाणी हो । निरोज र सञ्जयले २०४६ सालमा प्रेमविवाह गरेका थिए । यो जोडीको वैवाहिक जीवन सुखमय बितिरहेको थियो । दुर्भाग्य, २०५५ सालमा सडक दुर्घटनामा परेर सञ्जयले ज्यान गुमाए ।
सँगै जीवनभर साथ रहने यो जोडीको त्यही दुर्घटनासँगै अधुरै रह्यो । यद्यपि निरोजले आफूलाई सम्हालिन् ।
सञ्जय सामाजिक कार्यमा सक्रिय थिए । उनले २०५१ सालमा ‘प्रतीक’ भन्ने चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रमा सञ्जय आफैंले पनि अभिनय गरेका थिए ।
खेलकुद, कला, साहित्यमा रुचि बोकेका सञ्जय त्यतिबेला चलचित्र छायांकनका लागि पाल्पा तानसेनस्थित रानीमहल पुगेका थिए ।
|
त्यहाँबाट घर फर्किएपछि सञ्जयले एकदिन निरोजलाई रानीमहलमा घुमाउन लैजाने वाचा गरे । तर, चलचित्रको व्यस्तताका कारण उनले निरोजलाई रानीमहल घुमाउने समय पाएका थिएनन् । त्यसैबीच सञ्जयको दुर्घटना हुनु एक दुःखद क्षण बन्यो ।
‘उहाँ (सञ्जय)ले रानीमहल धेरै राम्रो छ । एकचोटि तिमीलाई पनि घुमाउन लैजान्छु है भन्नुभएको थियो । तर, समय नमिलेका कारण जान पाइएन,’ प्रतियोगिता दौरान रानीमहलकै आँगनमा बसेर त्यो क्षण सम्झँदा निरोज भावुक हुन्छिन् ।
|
आफ्नो प्रियजनलाई गुमाउनु कोही कसैका लागि पनि सहज हुँदैन । त्यो बज्रपातमा निरोज परिन् । तथापि सञ्जयको मायाको चिनोस्वरुप निरोजको साथ दुई सन्तान थिए । उनीहरूकै लागि निरोजले आफूलाई बलियो बनाइन् ।
सञ्जयकै सम्झनामा निरोज २०६० सालमा रानीमहल घुम्न पुगिन् । साँच्चै सञ्जयले भनेजस्तै उनलाई रानीमहल धेरै राम्रो ठाउँ लाग्यो । नलाग्नु पनि किन सञ्जयले उनलाई घुमाउन ल्याउँछु भनेका थिए । त्यहीं कारण पनि निरोजलाई यो ठाउँ खास र राम्रो लाग्नु स्वाभाविक थियो ।
त्यतिबेला उनले बिच भलिबलका बारेमा सोचेकी त थिइनन् । जब २०६४ सालमा भलिबल खेलमा प्रवेश गरेपछि निरोजले सञ्जयलाई राम्रो लाग्ने ठाउँ रानीमहलमा बिच भलिबल गर्ने योजना बुन्न थालिन् ।
समयक्रम बित्दै गयो । निरोजले आफ्नो योजनालाई सार्थक पार्न सकिरहेकी थिइनन् । सञ्जयको सम्झनामा अन्य कार्यक्रमहरू त गर्दै आएकी थिइन् । यसपालि भने निरोजले त्यहीं योजनालाई साकार पारेकी छन् । सञ्जय स्मृति महिला बिच भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिन् ।
रानीमहलजस्तो प्रेमको चिनारीमा सञ्जयको सम्झनामा भलिबल आयोजना गर्न पाउनु आफ्ना लागि ठूलो सफलता र अविस्मरणीय पक्ष भएको निरोज बताउँछिन् । सबैको प्रेम अमर हुन्छ । त्यसो त निरोज र सञ्जयको प्रेम पनि बिच भलिबलमार्फत अमर रहनेछ ।