युरोपा लिग

बार्सिलोनाको यात्रा क्वार्टरफाइनलमा सीमित

मड्रिड । स्पेनिस ला लिगाको क्लब बार्सिलोनालाई बिहीबार क्वार्टरफाइनल दोस्रो लेगमा ३-२ ले स्तब्ध पार्दै जर्मन बुन्डेसलिगा क्लब इन्ट्राट फ्रयांकफर्ट युरोपा लिगको सेमिफाइनल प्रवेश गरेको छ । 

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलपछि फ्रयांकफर्टले समग्रमा ४-३ को जित निकाल्दै अन्तिम चारको टिकट काटेको हो । पहिलो लेगमा बार्सिलोना र फ्रयांकफर्टले १-१ को बराबरी खेलेका थिए ।

चौथो मिनेटमा फिलिप कोस्टिचले पेनाल्टीको सदुपयोग गर्दा फ्रयांकफर्टले अग्रता लिएको थियो । ३६औं मिनेटमा राफेल सान्तोष बोरेले फ्रयांकफर्टको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा कोस्टिचले व्यत्तिगत दोस्रो गोल गरेसँगै फ्रयांकफर्टले समग्रमा ४-१ को अग्रता लियो । 

८४औं मिनेटमा सर्जियो बुस्केटको गोल भिडियो सहायक रेफ्री भिएआरले मान्यता नदिँदा बार्सिलाना निराश बनेको थियो । इन्जुरी समयको पहिलो मिनेटमा बुस्केट र ११औं मिनेटमा मेम्फिस डिपेको पेनाल्टी गोलमा बार्सिलोनाले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन । 

फ्रयांकफर्टले सेमिफाइनलमा वेस्ट हमको सामना गर्नेछ । 

यससँगै बार्सिलोनाको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।