च्याम्पियन्स लिग

सिटी र लिभरपुल सेमिफाइनलमा

लन्डन । इङ्लिस प्रिमियर लिगका शीर्ष दुई टोली म्यानचेस्टर सिटी र लिभरपुलले बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

बुधबार सम्पन्न क्वार्टरफाइनल दोस्रो लेगमा स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकिए पनि पेप ग्वार्डिओलाको टोलीले समग्रमा १-० को जितसहित ला लिगाकै शीर्ष टोली रियाल मड्रिडसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।

पहिलो लेगमा सिटीले एट्लेटिकोलाई १-० ले हराएको थियो । रियाल भने मंगलबार चेल्सीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । 

पहिलो लेगमा ३-१ को जित निकालेको रियाल दोस्रो लेगमा ३-२ ले पराजित भए पनि समग्रमा ५-४ को जितसहित अन्तिम चारमा प्रवेश गरेको थियो ।

त्यस्तै लिभरपुल बेन्फिकासँग क्वार्टरफाइनल दोस्रो लेगमा ३३ को बराबरी खेले पनि समग्रमा ६४ को जितका साथ सेमिफाइनल प्रवेश गर्यो । 

लिभरपुलले सेमिफाइनलमा ला लिगाको क्लब भियारियालको सामना गर्नेछ । पहिलो लेगमा लिभरपुलले बेन्फिकालाई ३-१ ले हराएको थियो ।

२१औं मिनेटमा इब्राहिमा कोनाटेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । त्यसको ११ मिनेटपछि गोन्जालो रामोसले बेन्फिकालाई खेलमा फर्काएका थिए ।

 ५५ र ६५औं मिनेटमा रोबेर्टो फिर्मिनोले दुई गोल गरेसँगै लिभरपुलले ३-१ को अग्रता लियो ।

७३औं मिनेटमा रोमन यारेमचुक र  ८२ औं मिनेटमा डार्विन नुनेजको गोलमा बेन्फिकाले खेल ३-३ को बराबरीमा ल्याए पनि त्यो अघिल्लो चरण प्रवेशका लागि पर्याप्त बनेन ।