नेपाली खेलकुद

खेलकुद क्षेत्रका सरोकारवालासँग बजेटका बारेमा छलफल, नयाँ कार्यक्रममार्फत सम्बोधन गर्ने अर्थमन्त्रीको भनाई

काठमाडौं । आगामी आर्थिक बर्ष ०७९–८० का लागि नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयले खेलकुद क्षेत्रका विभिन्न संघसंस्था, प्रशिक्षक र खेलाडीसँग छलफल गरेको छ ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले खेलकुद क्षेत्रलाई नयाँ ढङ्गले अगाडी बढाउनका लागि सुझाव लिएको बताए ।

‘सबैले राम्रो सुझाव दिनुभएको छ । यी सबै बिषय समेट्ने मन छ तर साधन, स्रोतले नभ्याउला की भन्ने लाग्छ’ उहाँले भन्नुभयो, ‘यद्दपि, खेलकुद क्षेत्रले खुसी मनाउने गरी केही नयाँ कार्यक्रम ल्याउने गृहकार्य भइरहेको छ ।’

उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए । छिटो प्रतिफल दिने (पुरस्कार जित्ने सम्भावना उच्च भएका खेलहरुका लागि) पूर्वाधार निर्माणका योजना बनाएर अगाडी बढाउनुपर्ने बताए । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २८, २९ र ३० जेठमा आयोजना गर्ने निर्णय गरेको र सो प्रतियोगिता भव्य रुपमा आयोजना गर्न बजेटको कुनै समस्या हुन नदिने प्रतिबद्धता जनाए । उहाँले नयाँ खेलाडी उत्पादन गर्नेतर्फ कार्यक्रम र बजेटले ध्यान दिन आवश्यक रहेको बताए ।

‘मुलुकमा एउटा खेलकुद विश्वविद्यालय छैन । यसको जरुरी परेको देख्छु’ उनले भने, ‘यो भयो भने खेलकुद सम्बन्धी नीति निर्माण गर्न, अध्ययन गर्न, नयाँ खेलाडी जन्माउन सहयोग पुग्छ ।’

‘राष्ट्रको गौरब र पहिचान निर्माण गर्ने क्षेत्रका रुपमा खेलुकदलार्इृ  सरकारले सधैं प्राथमिकतामा राखेको छ । खेलले देश–बिदेशमा रहेका नेपालीलाई एकताबद्ध गरेको हुन्छ’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एउटै खेलका लागि पूर्वाधार निर्माणमा ठूलो लगानी गर्न सक्ने अवस्थामा नरहेको जानकारी दिदै धेरै खेलहरु खेलाउन सकिने रंगशाला वा कभर्ड हल निर्माण सरकारको प्राथमिकतामा रहेको बताए । उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सबैले मिलेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा राखेपका पूर्व सदस्य सचिव जीवनराम श्रेष्ठले सरकारले खेलकुदलाई अनुत्पादक क्षेत्रको रुपमा हेर्ने गरेको भन्दै खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । खेलकुद क्षेत्रलाई सक्षम बनाउने गरी बजेट बिनियोजन हुनुपर्ने उनको सुझाव थियो ।

पूर्व खेलाडी दीपक श्रेष्ठले राष्ट्रिय खेलकुद प्रतियोगिता र एसियन गेम्स नजिकै आइसकेकाले तयारी गर्नुपर्ने र यस्ता प्रतियोगिताका लागि राम्रो बजेट राख्नुपर्ने सुझाव दिए ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलकुदलाई ब्राण्डिङ गर्नुपर्ने, सातै प्रदेशमा ठूला पूर्वाधार बनाउनुपर्ने, स्थानीय–प्रदेश र संघले राष्ट्रिय खेलकुद प्रतियोगिताको पिरामिड बनाएर काम गर्नुपर्नेलगायतका सुझाव दिए ।

यस्तै, पूर्व क्रिकेटर बिनोद दासले खेलकुदको बजेटलाई लगानीका रुपमा हेर्नुपर्ने बताए । उहाँले स्वदेशमै प्रशिक्षक र प्राविधिक उत्पादनका कार्यक्रम ल्याउनुपर्ने बताए ।

कार्यक्रममा उपस्थित नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान  सन्दिप लामिछानेले क्रिकेटका लागि कम्तीमा दुई ठूला रंगशाला हुनुपर्ने बताए ।

‘अन्तर्राष्ट्रिय मापदण्डको कम्तीमा दुई ठूला रंगशाला भयो भने अन्य देशलाई नेपालमा ल्याएर प्रतियोगिता गरी ठूलो लाभ लिन सक्छौं’ उहाँले भन्नुभयो । सबै क्षेत्रका खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था हुनुपर्ने उहाँको सुझाव थियो ।