ग्यारेथ बेल

विश्वकपमा छनोट भए बेलले व्यवसायिक करियलाई जारी राख्ने पेजको दाबी

लन्डन । मुख्य प्रशिक्षक रोब पेजले वेल्सले कतार विश्वकपमा स्थान बनाए ग्यारेथ बेलले व्यवसायिक फुटबल खेल्न जारी राख्ने बताएका छन् ।

स्पेनिस अखवारले गरेको आलोचनामा बेलको प्रतिरक्षामा कडा रुपमा उत्रिएका पेज रियाल मड्रिडको विंगरलाई ‘मार्का’ले ‘परजिवी’ भन्दै गरेको टिप्पणीप्रति क्रोधित बनेका थिए ।

यस सिजन रियाल मड्रिडबाट चार खेलमा मात्रै पहिलो रोजाइमा मौका पाएका ३२ वर्षीय बेलको व्यवसायिक भविष्यबारे प्रश्न उठ्न सुरु भइसकेको छ । जसका कारण केही अन्तर्राष्ट्रिय मिडियाले बेलले क्लब करियरबाट सन्यास लिन सक्ने जनाएका छन् ।

‘यदी हामीले नोभेम्बरमा हुने विश्वकपमा स्थान बनाउन सक्यौं भने पक्कै पनि बेलले व्यवसायिक फुटबललाई निरन्तरता दिनेछन्,’ पेजले भने, ‘विश्वकप उनको सपना हो । जुन उनको ‘सिभी’ मा थपिन बाँकी रहेको सफलता कुरा हो ।’

वेल्सले विश्वकप छनोटको युरोपियन छनोटको अन्तिम खेल खेल्न बाँकी छ । जसमा जित निकाले वेल्सले ६४ वर्षपछि विश्वकप खेल्नेछ । वेल्स पछिल्लो पटक सन् १९५८ मा विश्वकप छनोट भएको थियो ।