बेन्जेमाको गोलमा रियाल सेमिफाइनलमा

मड्रिड । करिम बेन्जेमाले अतिरिक्त समयमा गरेको गोलमा रियाल मड्रिडले साबिक विजेता चेल्सीसँग ३-२ ले पराजित भए पनि च्याम्पियन्स  लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

मासन माउन्ट, एन्टोनियो रुडिगर र टिमो वेर्नरको गोलमा चेल्सीले ७५ मिनेटसम्म ३-० को अग्रता लिएको थियो । गत साता पहिलो लेगमा ३-१ ले  पराजित भएको चेल्सीले यससँगै समग्रमा खेलमा ४-३ को अग्रता लिँदै पुनरागमन जितसहित सेमिफाइनल प्रवेश सम्भावना बलियो पारेको थियो । 

तर ८०औं मिनेटमा रोड्रिगोको गोलमा रियालले खेल ३-१ को स्थितीमा ल्यायो । यससँगै समग्रमा ४-४ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । 

इन्जुरी समयको छैटौ मिनेटमा बेन्जेमाले बललाई पोस्टको दिशा दिएपछि रियालले   गोलअन्तर ३-२ मा ल्यायो । यससँगै रियालले सम्रगमा ५-४ को जितसहित सेमिफाइनलमा स्थान बनायो ।

पहिलो लेगमा पनि  रियालको जितमा बेन्जेमाले ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै अन्तिम १६ मा पेरिस सेन्ट जर्मन (पिएसजी) माथि पुनरागमन जित निकाल्दा पनि बेन्जेमा नायक साबित भएका थिए ।

च्याम्पियन्स लिगको पछिल्लो तीन खेलमा सात गोल गरिसकेका   बेन्जेमाले आफ्नो गोल संख्या १२ पुर्याएका छन् ।

कार्लोे एन्सेलोट्टीको टोलीले फाइनल प्रवेशका लागि म्यानचेस्टर सिटी र एट्लेटिको मड्रिडको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सिटीले पहिलो लेगमा एट्लेटिकोलाई १-० ले हराएको थियो ।

स्पेनिस ला लिगाको शीर्ष टोली रियालले आइतबार सेभियाको सामना गर्नेछ भने चेल्सीले एफए कपको सेमिफाइनलमा क्रिस्टल प्यालेसको सामना गर्नेछ ।