च्याम्पियन्स लिग

बायर्नको यात्रा क्वार्टरफाइनलमा सीमित

बर्लिन । भियारियालले मंगलबार जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखलाई समग्रमा २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

भियारियाल सन् २००५-६ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा बायर्नलाई १-० ले हराएको भियारियाले दोस्रो लेगमा १-१ को बराबरीमा रोकिए पनि अन्तिम चारमा स्थान बनाएको हो ।

५२औं मिनेटमा रोबर्ट लेवान्डोवस्कीको गोलमा बायर्नले १-० को अग्रता लियो । यससँगै बायर्नले समग्रमा खेललाई १-१ को बराबरीमा ल्याएको थियो । 

खेल सकिन दुई मिनेट बाँकी रहँदा सामुयल चुक्वेजेको गोलमा भियारियालले खेलमा फर्कदै समग्रमा २-१ को अग्रतासहित  सेमिफाइनलको टिकट काटेको हो ।

बायर्न च्याम्पियन्स लिगको   क्वार्टरफाइनलबाट बाहिरएको यो लगातार दोस्रो पटक हो । गत सिजन पेरिस सेन्ट जर्मन (पिएसजी)सँग पराजित भएसँगै बायर्नको यात्रा अन्तिम आठमा सीमित बनेको थियो ।