आइपिएल

चेन्नईको पहिलो जित

चेन्नई । चेन्नई सुपर किंग्सले मंगलबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चार हारको शृंखलामा पूर्णविराम लगाएको छ ।

चेन्नईले जारी सिजन पहिलो जित निकाल्ने क्रममा रोयल च्यालेन्जर्स बेग्लोरलाई २३ रनले निराश पार्यो ।

चेन्नईले प्रस्तुत गरेको दुई सय १७ रनको लक्ष्य पछ्याएको बेग्लोरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ९३ रन मात्र जोड्न सक्यो ।

बेग्लोरका सहबाज अहमेदले ४६ तथा दिनेश कार्तिक र सुयास प्रभुदेसाईले समान ३४ रन जोडे । त्यस्तै ग्लेन म्याक्वेलले २६ रन जोडे ।

चेन्नईका माहिस थिकसेनाले चार र रबिन्द्र जडेजाले तीन विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङका लागि आएको चेन्नईले निर्धारित २० ओभरमा चार विकेटको क्षतीमा दुई सय १६ रनको योगफल खडा गरेको थियो ।

चेन्नईका शिवम् दुबेले अविजित ९५ र ओपनर रोबिन उत्थपाले ८८ रन जोडे । दुबेले ४६ बलमा आठ चौका र पाँच छक्का प्रहार गर्दा उत्थपाले ५० बलमा चार चौका र नौ छक्का प्रहार गरे ।

दुबे र उत्थपाले तेस्रो विकेटका लागि एक सय ५५ रनको साझेदारी गरेका थिए ।