च्याम्पियन्स लिग

बेन्जेमाको ह्याट्रिकमा रियालको सहज जित

लन्डन । करिम बेन्जेमाले च्याम्पियन्स लिगमा लगातार दोस्रो ह्याट्रिक पूरा गर्दा स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडले बुधबार क्वार्टरफाइनल पहिलो लेगमा इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीमाथि ३-१ को सहज जित निकालेको छ ।

बेन्जेमाकै ह्याट्रिकमा रियालले अन्तिम १६ मा पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध पुनरागमन जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको थियो ।

२१औं मिनेटमा बेन्जेमाको गोलमा रियालले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै बेन्जेमाले रियालको अग्रता दोब्बर पारे । 
४०औं मिनेटमा काइ हाभार्टजले बललाई पोस्टको दिशा दिएसँगै चेल्सीले खेलमा फर्कने संकेत गरेको थियो ।

४६औं मिनेटमा बेन्जेमाले ह्याट्रिक पूरा गरेसँगै रियाललेसहज जितसहित सेमिफाइनल प्रवेश सम्भावना बलियो पारेको हो । सबै खाले प्रतियोगिता गरि पछिल्लो चार खेलमा बेन्जेमाले गरेको यो १०औं गोल हो । 

रामेलु लुकाकुले आठ यार्डबाट गरेको प्रहार बाहिरिँदा चेल्सीले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो । त्यस्तै मेसन माउन्टको प्रहार पनि बाहिरिएको थियो ।

रियालले २०१४-१५ पछि इङ्लिस प्रियिमर लिगको टोलीको घरेलु मैदानमा निकालेको यो पहिलो जित हो । सो खेल रियालले ३-० ले जितेको थियो ।

यी दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार रियालको घरेलु मैदान सान्टियाओ बर्नाबेउमा हुनेछ ।