सुदूरपश्चिम स्पाेर्टस् अवार्ड

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः सुप आइकन पुरुषलाई माया मेट्रो हस्पिटलको साथ

धनगढी । धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई धनगढीको माया मेट्रो हस्पिटलले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने तेस्रो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको हो ।

स्पोर्टस अवार्डमा दिइने आठवटा विधा मध्येको सुदूरपश्चिम आइकन पुरुष अवार्डको नाम माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष अवार्ड हुने भएको छ ।

सुदूरपश्चिम आइकन दोस्रो संस्करणदेखि थप गरिएको विधा हो । यस विधाअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सफल पुरुष खेलाडीलाई अवार्ड प्रदान गरिनेछ ।

खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई प्रोत्साहन गर्नका लागि नयाँ अभियानमा अस्पतालका तर्फबाट सहयोग गरेको ‘माया मेट्रो’ अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले बताए ।

उनले खेलकुद क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको अस्पतालले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सावद नेपाल क्रिकेट संघका निवर्तमान केन्द्रीय सदस्य हुन् । खेलकुद क्षेत्रमा सक्रिय उनी निर्माण व्यवसायी समेत हुन् । उनी लामो समयदेखि खेलकुद क्षेत्रमा अग्रसर रहदै आएका छन् । ‘माया मेट्रो’ अस्पतालले साथ दिँदा अवार्डलाई अझ भव्य रुपमा सफल पार्न मद्दत मिल्ने मञ्चका अध्यक्ष सीताराम ओझाले बताए ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन् । त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाडौंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । वर्ष युवा खेलाडीलाई निर्ग अस्पताल, वर्ष प्रशिक्षकलाई सारथी अस्पताल र सुदुरपश्चिम आइकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ । त्यस्तैगरी, स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेको छ । अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ ।

विभिन्न आठ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।