राष्ट्रिय महिला लिग

पुलिस र विराटनगर विजयी

काठमाडौं । राष्ट्रिय महिला लिग २०७८ अन्तर्गत बुधबार भएको दुई खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँगै विराटनगर महानगरपालिकाले जित निकालेका छन् ।

चितवनको भरतपुरमा सम्पन्न बुधबारको पहिलो खेलमा विराटनगरले धनगढी उपमहानगरपालिकालाई १–० को साँघुरो अन्तरले हरायो । विराटनगरको जितमा विपना राईले निर्णायक गोल गरिन् ।

जितसँगै विराटनगरले लिगका पाँच खेलबाट १० अंक जोडेको छ । यस्तै, समान खेल खेलको धनगढीको नौ अंक छ ।

यस्तै, आजको दोस्रो खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई २–१ ले पराजित गर्यो ।

पुलिसको जिताउन मनिषा राउत र रेखा पौडेलले समान एक गोल गरे । चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले एक गोल फर्काए पनि टोलीका हार टार्न सकिनन् ।

लिगमा पाँच खेलबाट १२ अंक जोडेको पुलिस तालिकाको दोस्रो स्थानमा छ । यस्तै, हालसम्म जितविहिन रहेको चन्द्रपुरले पाँच खेल खेल्दा एक अंक जोडेको छ ।