सहिद स्मारक ‘बी’ डिभिजन लिग

खुमलटारको शीर्ष डिभिजनमा उक्लिने सम्भावना कायमै, झम्सिखेल सी मा घटुवा

फाइल फाेटाे

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बुधबारको तेस्रो खेलमा नयाँबस्ती युथ क्लबलाई ४–० ले पराजित गर्दै खुमलटार युथ क्लबले शीर्ष डिभिजनमा बढुवा हुने सम्भावनालाई कायम राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको १९औं मिनेटमा सविन केसीले गरेको गोलबाट खुमलटारले अग्रता लिएको थियो । ७४औं मिनेटमा आशिष श्रेष्ठले गोल गर्दै खुमलटारको अग्रता दोब्बर पारे ।

यस्तै, इन्जुरी समयमा विक्रान्त रानाले दुई गोल गरेपछि खुमलटारले ए डिभिजन लिगमा उक्लने सम्भावना कायम राख्यो । विक्रान्तले एक गोल पेनाल्टीमार्फत गरेका थिए ।

जितसँगै लिगमा १२ खेलबाट १९ अंक जोडेको खुमलटार तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस्तै, समान खेल खेलेको नयाँबस्तीको भने १५ अंक छ ।

आजको खेलमा खुमलटार पराजित वा बराबरीमा रोकिएको भए रानीपोखरी कर्नर टिम (आरसिटी) एक खेल अगावै ए डिभिजन लिगमा बढुवा हुने थियो । तर, अब भने आरसिटीलाई अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ । अन्तिम खेलमा आरसिटीले पराजित भए खुमलटारको शीर्ष डिभिजन लिगमा उक्लने सम्भावना बन्नेछ । तर, यसका लागि खुमलटारले अन्तिम खेलमा जित निकाल्न आवश्यक हुन्छ । 

तालिकाको दोस्रो स्थानमा रहेका आरसिटीको २१ अंक छ । यस्तै, १२ खेलबाट २६ अंक जोडेको चर्च ब्वाइज युनाइटेड भने एक खेल अगावै उपाधिसहित ए डिभिजन लिगमा बढुवा भइसकेको छ । 

आजकै खेलमा पहिलाे खेलमा ब्वाइज युनियनले मध्यपुर युथलाई र दाेस्राे खेलमा सामाजिक युथ क्लबले टुसाल युथ क्लबलाई पराजित गरेसँगै झम्सिखेल युथ क्लब तेस्राे डिभिजनमा घटुवा भएकाे छ ।