सहिद स्मारक ‘बी’ डिभिजन लिग

सरस्वती र सामाजिक बराबरीमा रोकिए

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आइतबारको दोस्रो खेलमा सरस्वती युथ क्लब र सामाजिक युथ क्लबले १–१ को बराबरी खेल्दै अंक बाडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको नवौं मिनेटमा सुरेश खत्रीले गरेको गोलबाट सामाजिकले अग्रता बनाएको थियो । तर, ५८औं मिनेटमा जेनिस तामाङले गोल गरेसँगै सरस्वती खेलमा फर्किएको थियो ।

यस्तै, ६६औं मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा सरस्वती अंक बाड्न बाध्य बन्यो ।

बराबरीसँगै सरस्वती क्लबले लिगको दोस्रो स्थानमा उक्लिने अवसर गुमायो । लिगमा सरस्वतीले १७ अंक जोडेको छ । जुन दोस्रो स्थानको रानीपोखरी कर्नर टिम (आरसिटी) को भन्दा एक अंक कम हो । यस्तै, समान खेल खेलेको सामाजिक युथले ११ अंक जोडेको छ ।

आजै भएको पहिलो खेलमा मध्यपुर युथ एसोसियसन क्लब र श्री भगवती क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका थिए ।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुनेछन् ।