अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिता

नवराज र विद्या च्याम्पियन

काठमाडौं । नवराज पराजुली र विद्या गुरुङले अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ स्वर्ण पदक जितेका छन् ।

फर्पिङमा भएको प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीमा उनले केन्द्रीय मुवाँथाई क्लबका रसिब जारीलाई पराजित गरे ।

प्रोफेसनल फाइटतर्फकै पुरुष ६३ केजीमा गोकर्णेश्वरका अब्राहम राई, ६० केजीमा गोकर्णेश्वरका कृतन श्रेष्ठ र ५८ केजीमा गोकर्णेश्वरका लाक्पा तामाङले स्वर्ण पदक जिते ।

नेपाल राष्ट्रिय मुवाँथाई संघद्वारा आयोजित प्रतियोगिताको महिला प्रोफेसनलको ६० केजीमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी विद्या गुरुङ पहिलो भइन् । उनले बनेपाकी चन्दा भुजेललाई हराएकी थिइन् ।

यस्तै, प्रतियोगिताको एमेच्योरतर्फ महिला ५१ केजीमा स्ट्रोङगेस्ट क्लब, पोखराकी सुरक्षा केसी र ५३ केजीमा जिमखाना मुवाँथाईकी प्राप्ती बतासले स्वर्ण पदक जिते ।

सेमि प्रो फाइटको पुरुष ५०–५३ केजीमा त्रिभुवन आर्मी क्लबका कृष्ण पुन मगरले काठमाडौं सुकेधाराका थोमन मोक्तान र ६९–७३ केजीमा आर्मीका पदमसिंह थापाले आर्मीकै प्रकाशकुमार बरुवाललाई हराउँदै विजयी भए ।

एमेच्योर पुरुषतर्फ ५३–५५ केजीमा सगरमाथा क्लब, बेलवारीका अरिक राई, ५६–६० केजीमा वज्रवराही क्लबका सुजन स्याङतान, ६३–६५ केजीमा स्ट्रोङगेस्टका रोहित कायात र ६७–७० केजीमा स्ट्रोङगेस्टका सन्दिपसिंह गुरुङले स्वर्ण पदक जिते ।

दुईदिने प्रतियोगिताको पुरुषतर्फ १० र महिलातर्फ तीन गरी १३ विधामा ४६ खेलाडीहरुले प्रतिस्पर्धा गरेको आयोजकले जानकारी दिएको छ ।