राष्ट्रिय महिला लिग

निर्मलाको दुई गोलप्रेरित पुलिसको जित

काठमाडौं । निर्मला विकको दुई गोलप्रेरित नेपाल पुलिस क्लबले आइतबार राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकालाई हराएको छ ।

चितवनको भरतपुरमा सम्पन्न खेलमा पुलिसले वालिङलाई ३–१ ले पराजित ग¥यो । पुलिसको जितमा निर्मलाले दुई गोल गर्दा अमृता जैसीले एक गोल गरिन् ।

खेल सुरु भएको दोस्रो मिनेटमा नै गोल गर्दै निर्मलाले अग्रता दिलाएकी थिइन् । ३३औं मिनेटमा निर्मलाले नै पुलिसको अग्रता दोब्बर पारिन् । ८३औं मिनेटमा अमृताले तेस्रो गोल गर्दै पुलिसको सहज जित पक्का गरिन् ।

वालिङकी सुस्मा जिटीले ६७औं मिनेटमा सान्त्वना गोल फर्काएकी थिइन् ।

लिगको चौथों चरणका खेलहरु चलिरहँदा चार खेल खेलमध्ये तीनमा जित र एक खेलमा हारसहित नौ अंक जाेडेकाे पुलिस तालिकाको तेस्रो स्थानमा यथावत् छ ।

समान खेलमा तीन जित र एक हार बेहोरेको धनगढी उपमहानगरपालिका समान ९ अंकसहित दोस्रो स्थानमा छ । समान खेल खेलेको वालिङ अंकविहीन छ ।

लिगमा सतप्रतिशत नतिजा निकालेको सशस्त्र प्रहरी बलको एपिएफ क्लब १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

आइतबारको अन्तिम खेलमा विराटनगर महानगरपालिका र ललितपुर महानगरपालिकाबीच खेल हुँदैछ ।