नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतले सुरु गर्‍यो तयारी 

काठमाडौं, (खेलाडी)- नेपालविरुद्धका दुई मैत्रीपूर्ण खेलका लागि भारतीय राष्‍ट्रिय फुटबल टोलीले कोलकातामा आफ्नो अभ्यास सुरु गरेको छ । 

नेपाल र भारतबीच यसै महिना दुई मैत्रीपूर्ण खेल हुने तय भएको छ । नेपाली राष्‍ट्रिय टोलीले चिर प्रतिद्वन्द्वी भारतलाई यही भदौ १७ र २० गते दशरथ रंगशालामा निम्त्याउने छ ।

भारतले नेपालविरुद्धको खेलका लागि कोलकातामा १५ वर्षपछि अभ्यास थालेको हो । यस अघि भारतीय टोलीले सन् २००६ फिफा विश्‍वकप छनोट अन्तर्गत साउदी अरेवियाविरुद्धको खेल क्रममा कोलकत्तामा अभ्यास गरेको थियो । 

डेढ दशकपछि कोलकातामा अभ्यास सुरु गर्दा भारतले २३ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । 

‘हामीले अभ्यासको मज्जा लिइरहेका छौं । पूरा टिम सँगै हुँदा निकै नै रमाइलो महशुस भइरहेको छ । हाम्रो लक्ष्य चिनमा हुने एएफसी एसिया कप २०२३ हो । त्यसैका लागि यो मैत्रीपूर्ण खेल खेल्न लागेका हौं,’ भारतीय टोलीका मिडफिल्डर अनिरुद्र थापाले भनेका छन् । 

कोभिड १९ महामारीको कारण भारतीय टोलीले स्वास्थ मापदण्ड पालना गर्दै अभ्यास सत्र बढाएको बताएको छ । बन्द प्रशिक्षण अघि सबै खेलाडीको पिसिआर परिक्षण गरिएको थियो । 

भारतको २३ सदस्यीय टोलीमा सेरिटन फर्नान्डेज, आशिष राई, राहुल केपी र रहिम अलिले पहिलो पटक स्थान बनाएका छन् । 

एएफसी कप तयारीमा रहेको बेङलुरु एफसी र एटिके कोलकत्ताका खेलाडी भने क्याम्पमा सहभागी भएका छैनन् । आफ्नो क्लबको खेल तालिका सकिएपछि उनीहरु अभ्यासमा फर्कनेछन् ।