कठिन जितका साथ एट्लेटिकोको उपाधि रक्षा अभियान सुरु
मड्रिड, (खेलाडी)- साविक विजेता एट्लेटिको मड्रिडले आइतबार सेल्टा भिगोमाथि २-१ को कठिन जित हासिल गर्दै स्पेनिस ला लिगामा उपाधि रक्षाको अभियान सुरु गरेको छ ।
दुवै टोली १० खेलाडीमा सिमित भएर अन्त्य गरेको खेलमा एट्लेटिकोका लागि एन्जेल कोरियाले दुई गोल गरेका थिए । पराजित सेल्टाका लागि इयागो आस्पासले सान्त्वनास्वरुप एक गोल गरेका थिए ।
इन्जुरी समयमा एट्लेटिकोका मारियो हेमोसो तथा सेल्टाका ह्युगो मालाओले रातो कार्ड सामना गरेपछि दुवै टोलीले १० खेलाडीमा सिमित भएर मैदान छोडेका थिए ।
थोमस लेमारको पासलाई गोलमा परिणत गर्दै कोरियाले २३औं मिनेटमा एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ५९औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै आस्पासले खेल बराबरीमा ल्याए । तर साउल निगुइजको पासमा कोरियाले ६४औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गर्दै एट्लेटिकोलाई स्पष्ट तीन अंक दिलाए ।