सहिद स्मारक ‘बी’ डिभिजन लिग

ब्वाइज युनियनसँग सरस्वती स्तब्ध

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत मंगलबारको पहिलो खेलमा ब्वाइज युनियन क्लबले सरस्वती युथ क्लबलाई ३–२ ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको १५औं मिनेटमा इन्सन राईले गरेको गोलबाट ब्वाइज युनियनले अग्रता बनाएको थियो । तर, पहिलो हाफको सकिन एक मिनेट बाँकी रहँदा सबिन खड्काले पेनाल्टीमार्फत गोल गर्दै सरस्वतीलाई खेलमा फर्काएका थिए ।

यस्तै, ६६औं मिनेटमा अविनाश थापाको गोलमा सरस्वतीले अग्रता लिएको थियो । तर, खेलको ७७औं मिनेटमा शरदकुमार क्षेत्रीले ब्वाइजलाई खेलमा फर्काएका थिए । यस्तै, त्यसको अर्को मिनेटमा मिलन लिम्बुले गोल गरेपछि ब्वाइज युनियनले ३–२ को जित निश्चित गर्यो ।

जितपछि पनि नौ खेलबाट आठ अंक जोडेको ब्वाइज युनियन तालिकाको १३औं स्थानमा छ । यस्तै, समान खेलबाट १५ अंक जोडेको सरस्वती तालिकाको तेस्रो स्थानमा छ ।