त्रिदेशीय ट्वान्टी २० श्रृंखला

मलेसियाले पिएनजीलाई ८ रनले हरायो

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेट श्रृंखलामा मलेसियाले पपुवा न्यु गिनी (पिएनजी) लाई आठ रनले हराएको छ ।

कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा सम्पन्न खेलमा श्रृंखलाको दोस्रो खेलमा मलेसियाले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएकाे पिएनजीले १९.३ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ७२ रन मात्र बनाउन सक्यो ।

पिएनजीका लागि टोनी उराले सर्वाधिक ५६ रनको योगदान गरे । उनले ३५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । यस्तै, नोर्मान भनुवाले ४५ र कप्तान असद भालाले ११ रन बनाए ।

मलेसियाका सर्विन मुनिएन्डीले चार विकेट लिदाँ मोहम्मद वाकिफ र पवनदी सिंहले तीन–तीन विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउनुअघि एक सय ८० रनको योगफल तयार गरेको थियो ।

मलेसियाका विरानदीप सिंहले सर्वाधिक ५९ रन बनाएका थिए । उनले ५२ बलमा समान दुई चौका र छक्का प्रहार गरेका थिए । यस्तै, कप्तान ऐमद फैजले ५६ र सैयद अजिजले ४७ रन बनाए ।

पिएनजीका नोर्मानले दुई विकेट लिदाँ नोसैना पोकनले एक विकेट लिएका थिए ।

सोमबारदेखि सुरु भएको श्रृंखलामा पिएनजी यसअघि नेपालसँग १५ रनले पराजित भएको थियो ।

त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा बुधबार दिउँसो १२ः३० मा नेपाल र मलेसिया खेल्नेछन् ।