राष्ट्रिय महिला लिग

चन्द्रपुरको लगातार दोस्रो हार

काठमाडौं । चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।

सोमबार चितवनको भरतपुरमा सम्पन्न दोस्रो चरणको खेलमा चन्द्रपुरलाई धनगढी उपमहानगरपालिकाले २–१ ले पराजित गर्यो ।

खेलमा चन्द्रपुरले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा धनगढीलाई नजिता सुम्पियो ।

धनगढीको पुनरागमन जितमा बिर्सना चौधरीले र चन्द्रा भन्डारीले पहिलो हाफको इन्जुरी समयमा एक एक गोल गरे । त्यसअघि खेलको ४४औं मिनेटमा रजनी थोकरले गरेको गोलबाट चन्द्रपुरले अग्रता लिएको थियो ।

यसअघि लिगको पहिलो खेलमा चन्द्रपुर ललितपुर महानगरपालिकासँग १–० ले पराजित भएको थियो । यस्तै, पहिलो खेलमा घनगढीले वालिङ नगरपालिकालाई ६–० ले पराजित गरेको थियो ।