सहिद स्मारक ‘बी’ डिभिजन लिग

ब्वाइज युनियनसँग बराबरीमा रोकियो आरसिटी

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग रानीपोखरी कर्नर टिम (आरसिटी) र ब्वाइज युनियन क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको २९औं मिनेटमा आरसिटीका खेलाडीबाट आत्मघाती गोल उपहार पाएपछि ब्वाइज युनियनले अग्रता बनाएको थियो ।

तर, ३७औं मिनेटमा प्रज्वल गुरुङले गोल गर्दै आरसिटीलाई खेलमा फर्काएका थिए ।

बराबरीसँगै ६ खेलबाट नौ अंक जोडेको आरसिटी तालिकाको छैटौं स्थानमा छ । यस्तै, समान खेलबाट चार अंक जोडेको ब्वाइज युनियन लिगको रेलिगेशन जोनमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा नयाँबस्ती युथ क्लबले सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दा दोस्रो खेलमा टुसाल युथ क्लब र मध्यपुर युथ एसोसियसनले गोलरहित बराबरी खेलेका थिए ।