आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

नेपाल युएईसँग ४८ रनले पराजित

दुबई । आइसिसी विश्वकप क्रिकेट लिगअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) मा जारी त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा एक सय २० रनमै समेटियो ।

युएईविरुद्ध पनि नेपालको ब्याटिङ चलेन । नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । यसबाहेक, ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका अर्का ओपनर आशिफ शेख र कप्तान सन्दीप लामिछाने समान सात रन बनाउँद करण केसी र सोमपाल कामीले समान ६ रन जोडे । यस्तै, दीपेन्द्रसिंह ऐरी चार रनमा पभेलियन फर्किदा सागर ढकाल शुन्यमा अविजित रहे ।

यसअघि शृंखलाको पहिलो खेलमा रोहितसँगै अर्धशतक बनाएका आरिफ शेख आज भने शुन्यमै आउट भए ।

नेपाललाई सस्तोमा समेट्न युएईका बसिल हमेदले सर्वाधिक चार विकेट लिए । पाँच ओभर बलिङ गरेका हमेदले एक मेडन राख्दै १५ रन खर्चिए ।

यस्तै, जुनैद सिद्दिकीले दुई विकेट लिँदा जहुर खान र रोहन मुस्तफाको नाममा एक एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङमा आएको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गरेको थियो ।

युएईका चुन्दाङ्गापोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाएका थिए । यस्तै, ओपनर मुहम्मद वसिमले २१, कासिफ दाउदले १८ र बसिल हमेदले १४ रन बनाएका थिए ।

नेपालका सोमपाल कामीले चार विकेट लिएका थिए । यसबाहेक, करण केसीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक विकेट लिएका थिए ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो ।

डिभिजन २ मा १० खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, तालिकाको दोस्रो स्थानमा रहेको युएईले १६ खेलबाट २० अंक जोडेको छ ।