एल क्लासिको

एल क्लासिकोमा केन्द्रित जाभी

मड्रिड । स्पेनिस क्लब बार्सिलोनाको मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले युरोपा लिगमा गालाटासेरेमाथि जित निकाले पनि उक्त नतिजाले आइतबार हुने एल क्लासिकोलाई कुनै फरक नपार्ने बताएका छन् ।

बिहीबार युरोपा लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा गालाटासेरेलाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको बार्सिलोनाले आइतबार ला लिगाअन्तर्गत रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

‘आजको खेल महत्वपूर्ण थियो किनकी हामीले युरोपा लिगको उपाधिका लागि खेल्याैँ,’ जाभीले खेलपछि भने, ‘हामी प्रतियोगितामा धेरै अगाडि जान चाहन्छौ र क्वार्टरफाइनलमा पुग्न पाउँदा धेरै खुशी छौ । बार्सिलोना लिगको क्वार्टरफाइनलका लागि योग्य थियो ।’

जाभीले पछिल्लो समय बार्सिलोना लयमा फर्किए पनि मड्रिडसँगविरुद्ध यसले खासै महत्व नराख्ने बताएका छन् ।

‘व्यक्तिगत रुपमा मड्रिडविरुद्धको खेलको बारेमा मलाई धेरै अनुभव छ । कुनै बेलामा हामीले एल क्लासिकोमा राम्रो खेल्दा खेल्दै पनि हार्नु परेको थियो । यसैकारण टोली राम्रो लयमा भए पनि आइतबारको खेल निकै कठिन हुनेछ,’ उनले भने ।