इङ्लिस प्रिमियर लिग

चेल्सी र आर्सनलको जित

लन्डन । बेलायत सरकारले रुसी अर्बपति रोमन अब्रामोचिको सम्पत्ति रोक्का गर्नु र प्रिमियर लिगले उनलाई क्लबको निर्देशकका रुपमा अयोग्य घोषणा गर्नुले युरोपियन च्याम्पियन चेल्सीको भविष्यका बारेमा अनेक टिकाटिप्पणी हुँदै आएको छ ।  

तर मैदानबाहिरको अन्यौल जे भए पनि चेल्सीले मैदानमा भने त्यसको असर पर्न दिएको छैन । इङ्लिस प्रिमियर लिगमा आइतबार न्युक्यासल युनाइटेडलाई १-० ले हराउँदै चेल्सीले आफ्नो लयलाई निरन्तरता दिएको हो ।

खेल सकिन एक मिनेट बाँकी रहँदा काई हाभार्टजले गरेको गोलमा चेल्सीले जित निकालेको हो ।

क्लब मालिकमाथिको प्रतिबन्धका कारण चेल्सीका तीन प्रायोजकले सम्झौता रद्द गर्दै जर्सीमा रहेको आफ्नो लोगो हटाउँन माग गरे पनि चेल्सीले भने त्यो लोगो हटाइसकेको छैन ।

खेलअघि चेल्सीका प्राबिधिक निर्देशक पिटर चेकले आफूहरुले यो सिजनको अन्त्य गर्न पाउने वा नपाउनेमा पनि दुबिधा रहेको प्रतिक्रिया दिएका थिए ।

चेल्सी २८ खेलमा ५९ अंकसहित तेस्रो स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा सात अंक कम हो । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६९ अंक छ भने चौथो स्थानको आर्सनलको ५१ र पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ५० अंक रहेको छ ।

आइतबारै भएको खेलमा चौथौ स्थानमा उक्लिने क्रममा आर्सनलले लेस्टर सिटीलाई २-० ले पराजित गरेको हो ।