एन्फा कार्यसमिति बैठक

एन्फा कार्यसमिति बैठक बुधबार बस्दै: चुनावी एजेन्डा मात्रै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक चैत २ गते बुधबार बस्ने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले आइतबार पत्र काट्दै कार्यसमिति सदस्यलाई बैठकमा उपस्थितिका लागि सूचित गरेका छन् ।

बुधबार दिउँसो ४ बजे एन्फा कम्प्लेक्समा बस्ने बैठकमा विशेष गरी एन्फाको निर्वाचन र विशेष साधारण सभा सम्बन्धी तीन एजेन्डामा छलफल हुने बताइएको छ । तर, घरेलु फुटबलमा अलिहे चर्किएको सहिद स्मारक ए डिभिजन लिगका क्लब र नेपाल सुपर लिग (एनएसएल) बीचको विषयले भने स्थान पाएको छैन ।

एनएसएलको दोस्रो संस्करणको तीव्र तयारी हुँदै गर्दा केही क्लबहरूले खेलाडीको विषयलाई लिएर यसको विरोध गरिरहेका छन् । यसै सम्बन्धमा २० गते भएको अक्सन रोक्न एन्फाले निर्देशन दिएको थियो । यद्यपि, कार्यसमितिकै सदस्यले संस्थागत निर्णय नभएको बताएका थिए ।

एन्फाको निर्देशनका बाबजुद अक्सन भएको थियो । त्यस बेला ए डिभिजन लिगका ८ क्लबले असन्तुष्टि जनाएका थिए । तर, आजको पत्रकार सम्मेलनसम्म आइपुग्दा चार क्लब मात्रै यसमा अडिग देखिएका छन् । यसअघि सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, थ्री स्टार क्लब, न्युरोड टिम (एनआरटी), मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लबले पटक पटक संयुक्त विज्ञप्ति निकालेका थिए । तर, आज आयोजित पत्रकार सम्मेलनमा चार क्लब– मनाङ, थ्री स्टार, संकटा र एनआरटी मात्रै उपस्थित रहे ।