झापा गोल्डकप

झापा गोल्डकप: सातदोबाटो क्वार्टरफाइनलमा

  • बुद्ध भुषण योञ्जन

झापा । गोलकिपर अभिषेक बरालको उत्कृष्ट प्रदर्शनप्रेरित सातदोबाटो युथ क्लब पाँचौ झापा गोल्डकपको क्‍वार्टरफाइलनमा प्रवेश गरेको छ । सातदोबाटोले शनिबार प्रतियोगिताको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्यो ।

डोमालाल राजवंशी मैदान बिर्तामोडमा निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो ।

खेलको तेस्रो मिनेटमा अजई मार्टिन्सले गरेको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो । १२औं मिनेटमा ओन्गुना जुनियरले गोल गरेपछि जावलाखेल बराबरीमा फर्किएको थियो ।

यस्तै, ३४औं मिनेटमा जुनियरले नै गोल गर्दै जावलाखेललाई २–१ को अग्रता दिलाएका थिए । तर, ४८औं मिनेटमा आशिष राईले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काएका थिए ।

पेनाल्टीमा जावलाखेलका जुनियर र सुरजजिउ ठकुरीले गोल गर्दा कुलदीप गिरी र गौरव श्रेष्ठले बललाई जाली चुमाउन सकेनन् । कुलदीप र गाैरवकाे प्रहार सातदाेबाटाेका गाेलकिपर अभिषेकले बचाएका थिए । दुई पेनाल्टी बचाएका अभिषेक खेलकाे 'म्यान अफ दी म्याच' चुनिए ।

सातदोबाटोका आकाश बुढामगर, प्रशान्त अवस्थी, मानबहादुर तामाङ र अजई मार्टिन्सले पेनाल्टीमा कुनै गल्ति गरेनन् ।
जितसँगै सातदोबाटो प्रतियोगिताको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । सातदोबाटोले क्वार्टरफाइलनमा एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा बाई पाएपछि एपिएफले सोझै क्वार्टरफाइलनमा प्रतिस्पर्धा गर्ने भएको हो ।