सहिद स्मारक ‘बी’ डिभिजन लिग

विरगंज र नयाँबस्तीले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शनिबारको तेस्रो खेलमा विरगंज युनाइटेड र नयाँबस्ती युथ क्लबले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा क्रिपकान्त महतो थारुले गरेको गोलबाट विरगंजले अग्रता बनाएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा सुमन योङ्ग्याले गोल गर्दै नयाँबस्तीलाई बराबरीमा फर्काएका थिए ।

खेलको ६४औं मिनेटमा जिवन मगरले गोल गर्दै नयाँबस्तीलाई २–१ को अग्रता दिलाएका थिए । तर, ८१औं मिनेटमा विरगंजका विवेक चौधरीले गोल गरेपछि खेल बराबरीमा टुङ्गिएको थियो ।

यसअघि लिगको पहिलो खेलमा विरगंज युनाइटेड ब्वाइज युनियन क्लबसँग १–० ले पराजित भएको थियो । यस्तै, नयाँबस्तीले पहिलो खेलमा पनि श्री कुमारी क्लबसँग २–२ को बराबरी खेलेको थियो ।

आजै भएको पहिलो खेलमा श्री भगवतीले ब्वाइज युनियनलाई २–१ ले पराजित गर्दा दोस्रो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लबले गोलरहित बराबरी खेलेका थिए ।