एनएसएल

भरत खवास ‘अनसोल्ड’

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर तथा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अक्सनमा ‘अनसोल्ड’ भएका छन् ।

यसअघि प्रतियोगिताको पहिलो संस्करणमा भरत एफसी चितवनका मार्की खेलाडी थिए । भरतबाहेक एनएसएलको दोस्रो संस्करणमा पूर्व राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठ र विक्रम लामा पनि ‘अनसोल्ड’ रहेका छन् । यस्तै, अभिषेक रिजाल, सुमन लामा र भोला सिलवाल पनि अनसोल्ड भएका छन् । 

चैत २६ गतेदेखि सुरु हुने प्रतियोगिताको लागि आज अक्सन भइरहको छ । अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा दुई सय ४२ खेलाडी छन् ।

प्रतियोगिताको यस सिजन तीन टोली थप्दै आयोजकले सहभागी क्लब संख्या सातबाट बढाएर १० पुर्याएको छ । फ्रेन्चाइज फुटबलको दोस्रो संस्करणमा स्पोर्टिङ इलामसँगै झापा एफसी र विरगंज युनाइटेड थपिएका हुन् । यसअघि पहिलो संस्करणमा काठमाडौं रेजर्स, बुटबल लुम्बिनी एफसी, धनगढी एफसी, पोखरा थन्डर्स, विराटनगर एफसी, ललितपुर सिटी एफसी, एफसी चितवनले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।