रुस-युक्रेन तनाव

स्कटल्यान्डसँगको खेल स्थगित गर्न युक्रेनको अनुरोध

किभ । युक्रेनले विश्वकप छनोटको प्ले अफअन्तर्गत स्कटल्यान्डविरुद्धको खेल स्थगित गर्न फिफालाई अनुरोध गरेको छ ।

ह्यामडेनमा मार्च २४ मा युक्रेनले प्लेअफको सेमिफाइलनमा स्कटल्यान्डसँग खेल्ने तय थियो । तर, गत साता रुसले सैन्य कारवाही सुरु गरेपछि युक्रेनले उक्त खेल स्थगित गर्ने निर्णय गरेको छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफा, युइएफए र स्कटिस फुटबल एसोसियसन यस विषयमा मिलेर समाधान निकाल्ने बताएको छ ।

स्कटल्यान्ड र युक्रेनबीचको विजेताले प्लेअफको फाइनलमा वेल्स र अस्ट्रियाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ र सो खेलमा जित निकाले कतार विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछ ।

युक्रेनको प्रस्तावलाई पुष्टि गर्दै फिफाले यसबारे चाडै निर्णय गर्ने बताएको छ ।

‘फिफा युद्धले पुर्याएको क्षतीप्रति युक्रेनी जनतामा गहिरो ऐक्यबद्धता व्यक्त गर्न चाहन्छ । युक्रेन फुटबलले गरेको अनुरोधबारे चाडै नै निर्णय गर्नेछौं,’ फिफाले भनेको छ ।

स्कटिस एफएका अध्यक्ष रोड पेट्रीले युद्धको अवस्थामा फुटबलले महत्व नराख्ने बताए । यस्तै, उनले आफूहरु युक्रेनप्रति मित्रता र एकताबद्ध रहेको सन्देश दिए ।