सहिद स्मारक ‘बी’ डिभिजन लिग

मध्यपुरको विजयी सुरुआत

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ असोसियसनले विजयी सुरुआत गरेको छ । मध्यपुरले शुक्रबार सामाजिक युवा क्लबलाई ५–२ ले पराजित गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मध्यपुरलाई जित दिलाउन सञ्जित थापामगरले दुई गोल गर्दा सन्नी लामा, धिरज श्रेष्ठ र जेनिश प्रजापतीले समान एक गोल गरे ।

चौथो मिनेटमा मध्यपुरका सन्नी लामाले गरेको गोलबाट मध्यपुरले अग्रता लिएको थियो । सातौं मिनेटमा सञ्जितले मध्यपुरको अग्रता दोब्बर पारे । 

तर, विकाश दर्जीले १६औं मिनेट र बसन्तबहादुर रानाले २१औं मिनेटमा गोल गरेपछि सामाजिक खेलमा फर्किएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा सञ्जिवले दोस्रो गोल गर्दै मध्यपुरलाई ३–२ को अग्रता दिलाए । यस्तै, ५४औं मिनेटमा धिरज र ७४औं जेनिशले गोल गरेपछि मध्यपुरले ५–२ को जित निश्चित गर्यो ।

यो खेलसँगै लिगको पहिलो चरण सकिएको छ । पहिलो चरणको समाप्तिसम्म चर्च ब्वाइज युनियन शीर्ष स्थानमा छ । यस्तै, तालिकाको दोस्रो स्थानमा मध्यपुर उक्लिएको छ ।

लिगको पुछारमा सामाजिक युवा क्लब र टुसाल युथ क्लब छन् ।