इङ्लिस प्रिमियर लिग

इङ्लिस प्रिमियर लिगः सनसनीपूर्ण नतिजालाई निरन्तरता दिने टोटनहमको लक्ष्य

लन्डन । टोटनहमले शनिबार लिड्सको भ्रमण गर्दै उतारचढावपूर्ण साताको अन्त्य गर्दैछ । जहाँ टोली सम्हालको चार महिनामै राजीनामा दिन सक्ने बताइसकेका टोलीका प्रशिक्षक एन्टोनियो कोन्टेको भविश्य पनि निर्धारण हुने सम्भावना छ ।

गत सप्ताहन्तमा शीर्ष टोली म्यानचेस्टर सिटीमाथि ३–२ को सनसनीपूर्ण जित हासिल गर्दै टोटनहमले शीर्ष चारमा रहेर सिजनको अन्त्य गर्दै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने आशा जीवित राखेको छ । त्यसका लागि ९५औं मिनेटमा ह्यारी केनले निर्णायक गोल गरेका थिए ।

तर त्यो जितलगत्तैको खेलमा टोली बर्नलीसँग १–० को नतिजामा पराजित भयो । जुन टोटनहमको पछिल्ला पाँच लिग खेलमा चौथो हार थियो ।

‘यो अवस्था पक्कै पनि स्वीकार्य हुन सक्दैन । टोटनहमजस्ते टोलीले लिगका पाँच खेलमा चार हार भोग्नु भनेको दूर्भाग्य हो । त्यसैले अब क्लबसँग बसेर सबथोकको समिक्षा गर्नु आवस्यक छ,’ प्रिमियर लिग अंकतालिकाको आठौं स्थानको टोलीका प्रशिक्षक कोन्टेले भने, ‘हाम्रो अवस्था खस्कँदै गएको छ । हाम्रा समर्थकहरु यस्तो अवस्था सहनका लागि तयार छैनन् । यही अवस्थामा मेरो पनि निरन्तरता हुन सक्दैन । समस्या प्रशिक्षकमा हो भने छोडेर क्लबलाई सहयोग गर्न म तयार छु । म इमान्दार मानिस हुँ, बीचमै छोड्नुपर्दा म क्लबसँग क्षतिपूर्तिवापतको पैसा माग गर्ने छैन । हामीले अहिलेको प्रदर्शनमा सुधार गर्नु जरुरी छ । यही तरिकाले अगाडि बढ्न सकिन्न ।’

टोटनहमको पछिल्लो पराजय रेलिगेसनबाट बाच्ने संघर्षमा रहेको लिड्सका लागि पनि सुखद रहेन । बर्नलीले लगातार दोस्रो जित हासिल गरेको दिन लिड्स भने बुधबार लिभरपुलसँग ६–० को नतिजामा पराजित भएको थियो । ती दुई खेलको नतिजापछि रेलिगेसन क्षेत्रको बर्नलीले लिड्ससँगको दुरी तीन अंकमा घटाएको छ ।

‘हामी रेलिगेसनबाट बाच्न संघर्ष गरिरहेका छौं । पक्कै पनि यो अवस्थाले हामीलाई चिन्तित बनाएको छ,’ लिड्सका प्रशिक्षक मार्सेलो विएल्साले भने ।

लिड्सले लिगकै उच्च २५ खेलमा ५६ गोल सामना गरिसकेको छ ।

शीर्ष डिभिजनबाट १६ वर्षसम्म विछोडिनुपरेको लिड्सलाई प्रिमियर लिगको हैसियतमा फर्काएपछि योर्कसायरमा विएल्सा भगवानजस्तै सम्मानित छन् । तर अंकतालिकामा टोलीको अवस्थाका कारण एलान्ड रोडमा चौथो सिजन विताइरहेका विएल्साको कार्यकाल छोट्टिने सम्भावना बढ्दै गएको देखिन्छ ।

सात खेलको विजयरहित यात्राबाट एक अंकमात्र जोड्न सकेका कारण ब्रेन्टफोर्ड पनि रेलिगेसनबाट जोगिनेहरुको प्रतिस्पर्धामा तानिएको छ । तर ब्रेन्टफोर्डले शनिबार न्युक्यासलविरुद्ध हुने महत्वपूर्ण खेलका लागि क्रिस्टियन इरिक्सन मैदान फर्किने आशा राखेको छ ।

युरो २०२० अन्तर्गत जुनमा ह्रदयघातका कारण मैदानमै ढलेयता डेनमार्कका अन्तर्राष्ट्रिय खेलाडी इरिक्सनले कुनै प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् ।

इन्टर मिलानबाट स्वतन्त्र भएपछि जनवरीमा स्वतन्त्र सरुवा प्रणाली (फ्रि एजेन्ट)मार्फत लन्डनको क्लबसँग अनुबन्ध भएका ३० वर्षे मिड्फिल्डरले फिट्नेसमा सुधार ल्याइरहेका छन् । पछिल्ला हप्ताहरुमा बन्द रंगशालामा भएका मैत्रीपूर्ण खेलमा मैदान उत्रिएर उनले त्यसको प्रमाण पनि दिइसकेका छन् ।

‘उनी राम्रो अवस्थामा छन् । न्युक्यासलविरुद्धको खेलमा उनी मैदान उत्रिने सम्भावना बलियो छ,’ ब्रेन्टफोर्डका प्रशिक्षक थोमस फ्रयांकले भने ।

इरिक्सनको भावुक पुनरागमनले प्रिमियर लिगको पुछारतर्फको भिडन्तमा एउटा रोचक पक्ष थप्नेछ ।

६ खेलको अपराजित यात्राले न्युक्यासललाई पुछारको तीन स्थानभन्दा माथि उकालेको छ । तथापि टोली रेलिगेसन क्षेत्रमा सबभन्दा माथि रहेको बर्नलीभन्दा दुई अंकलेमात्र माथि छ । ब्रेन्टफोर्ड पुछारका तीनभन्दा चार अंकले माथि छ । तर टोलीले बर्नलीभन्दा तीन खेल बढि खेलेको छ ।

एभर्टन पनि रेलिगेसनको खतराबाट मुक्त छैन । सप्ताहन्तमा टोलीले अत्यन्त कठिन प्रतिस्पर्धा गर्नुपर्नेछ । अक्टोबरयता लिगमा पहिलो हार भोगेको म्यानचेस्टर सिटीलाई एभर्टनले शनिबार प्रतिद्वन्द्वीका रुपमा सामना गर्नुपर्नेछ ।

अंकतालिकाको शीर्ष स्थानमा सिटी लिभरपुललाई तीन अंकले पछि छोड्दै सबभन्दा माथि छ । तर लिड्स युनाइटेडमाथि फराकिलो जित हासिल गरेको लिभरपुल गोल अन्तरमा पेप ग्वार्डिओलाको टोलीभन्दा अगाडि छ ।

लिभरपुलले यो साता वेम्बलीमा चेल्सीविरुद्ध लिग कपको फाइनल खेल्नेछ । जसबाट सिटीलाई अंकतालिकाको शीर्ष स्थानमा अग्रता ६ अंकले फराकिलो पार्ने अवसर मिल्नेछ ।  

‘सिटीले खेल्दैछ, कोसँग भन्ने मलाई राम्ररी याद छैन । तर जोसँग भए पनि उनीहरुले जित्ने सम्भावना बलियो छ । र लिगको अर्को खेलका लागि हामी मैदान उत्रिँदा उनीहरु ६ अंकले अगाडि हुनेछन्,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले मर्सिसाइडको प्रतिद्वन्द्वी एभर्टनसँग ठूलो आशा राखेनन् ।

प्रिमियर लिगअन्तर्गत सप्ताहन्तमा हुने खेलहरु ः

साउथह्याम्पटन विरुद्ध नर्विच (शुक्रबार राति १ः४५ बजे)

लिड्स विरुद्ध टोटनहम (शनिबार राति ६ः४५ बजे)

म्यानचेस्टर युनाइटेड विरुद्ध वाट्फोर्ड (शनिबार राति ८ः४५ बजे)

ब्रेन्टफोर्ड विरुद्ध न्युक्यासल (शनिबार राति ८ः४५ बजे)

ब्राइटन विरुद्ध एस्टन भिल्ला (शनिबार राति ८ः४५ बजे)

क्रिस्टल प्यालेस विरुद्ध बर्नली (शनिबार राति ८ः४५ बजे)

एभर्टन विरुद्ध म्यानचेस्टर सिटी (शनिबार राति ११ः१५ बजे)

वेस्ट ह्याम विरुद्ध उल्भस (आइतबार राति ७ः४५ बजे)