सहिद स्मारक ‘ए’ डिभिजन लिग

११ वर्षपछि एनआरटीसँग हार्यो मनाङ

काठमाडौं । घरेलु फुटबलको सर्वाधिक सफल मनाङ मर्स्याङ्दी सहिद स्मारक ए डिभिजन लिगमा ११ वर्षपछि न्युरोड टिम (एनआरटी)सँग पराजित भएको छ ।

लिगको १२औं चरणअन्तर्गत आइतबार दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई जित दिलाउन ओलामेउ मेसुकेले २६औं मिनेटमा गरेको एक मात्र गोल पर्याप्त बन्यो ।

एरिक विष्टले करिब ३५ यार्डबाट प्रहार गरेको फ्रि–किकमा बनेको ‘मुभ’मा मेसुकेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । फ्रिकिकबाट आएको बललाई स्टेफन बिनोङले हल्का फ्लिक गरेपछि पेनाल्टी बक्स भित्र कसैको निगरानीमा नरहेको फाइदा उठाउँदै मेसुकेले गोल गरे ।

मेसुकेले सहज नियन्त्रणमा लिँदै प्रहार गरेको बल सोझै जालीको सम्पर्कमा पुग्दा विपक्षी मनाङका गोलकिपर विशाल सुनार मुकदर्शक बने । पहिलो हाफमा १–० ले पछि परेको मनाङले खेलमा पुनरागमन गर्न नसक्दा ११ वर्षपछि लगातार दुई खेलमा पराजित हुनुपर्यो ।

०६६–६७ सालको लिगमा आठ पटकको च्याम्पियन मनाङ विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबसग लगातार पराजित भएको थियो । जारी लिगको ११औं चरणमा मनाङ सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबसँग ३–१ को नतिजामा पराजित भएको थियो ।

लिगको सर्वाधिक सफल टोली मनाङ १२औं चरण सकिँदा ११ खेलमा २० अंक जोडेर तेस्रो स्थानमा छ । समान खेलबाट समान २० अंक जोडेको एनआरटी ‘हेड टू हेड’मा मनाङलाई पछाडि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।