एनआरटी

तीन अंकका लागि खेलेका थियौं: प्रशिक्षक शाक्य

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आइतबार मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेपछि न्युरोड टिम (एनआरटीका) मुख्य प्रशिक्षक राजुकाजी शाक्यले तीन अंककै लागि खेलेको प्रतिक्रिया दिएका छन् ।

ओलामेउ मेसुकेको निर्णायक गोलप्रेरित एनआरटीले ११ वर्षपछि मनाङलाई पराजित गरेको थियो । जारी लिगको १२औं चरणको खेलमा एनआरटीले मनाङविरुद्ध दुर्लभ जित निकालेपछि पत्रकार सम्मेलनमा शाक्यले सबै मौका सदुपयोग गर्न नसेकेको पनि बताए ।

‘खेलाडीले दबाबकाे कसरी सामना गर्ने भन्ने कहिल्यै जान्दैनन्,’ प्रशिक्षक शाक्यले भने, ‘हामीले काउन्टर–अट्याकमा धेरै मौका पाएका थियौं, तर ४–५ मौका खेरफाल्नु पर्यो ।’

आजको जितसँगै मनाङलाई हेड टू हेडमा पछाडि पार्दै एनआरटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

‘हामीले तीन अंकका लागि खेलेका थियौं,’ उनले भने, ‘र, घरेलु फुटबलको पावर हाउससँग कठिन चुनौतीका लागि हामी तयार थियौं । अब हामीसँग दोस्रो स्थानमा लिग सकाउने मौका छ, तर त्यो त्रिभुवन आर्मी फुटबल क्लबको नतिजामा पनि भर पर्नेछ ।’

मनाङको दुर्भाग्य

यस्तै पराजित मनाङका मुख्य प्रशिक्षक तोपे फुजाले चोटले ग्रसित हुनुका बाबजुद पनि आफ्नो टोलीले राम्रो खेलेको प्रतिक्रिया दिए ।

‘हामी पूर्ण रूपमा फिट थिएनौं, तर दोस्रो हाफमा भने राम्रो खेल्यौं,’ उनले भने, ‘आफिजको प्रहार क्रसबारमा लागेर फर्किनुले हामी दुभाग्यशाली सावित भयौं ।’

एनआरटीको प्रदर्शन औसत रहेको बताउँदै फुजाले आर्मीविरुद्धको खेल महत्त्वपूर्ण हुने र दोस्रो स्थानमा लिग सकाउनका लागि जित आवश्यक रहेको उनले बताए ।