सहिद स्मारक ‘ए’ डिभिजन लिग

फ्रेन्ड्ससँग पराजित च्यासल ‘बी’ डिभिजनमा घटुवा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार फ्रेन्ड्स क्लबसँग २–१ ले पराजित भएसँगै च्यासल युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

लिगको १२औं चरण आएर ‘बी’ डिभिजन घटुवा हुने एक टोलीको टङ्गो लागेको हो । जितसँगै फ्रेन्ड्सले भने घटुवा नहुने सम्भावनालाई बलियो बनाएको छ । फ्रेण्ड्सले जितसँगै १० अंक जोड्दै । १० अंक सहित १२औं स्थानमा रहेको छ ।

च्यासल युथ क्लबको १२ खेलबाट ६ अंक मात्र जोडेको  छ ।

च्यासलले यस सिजनमा  एपीएफलाई मात्र हराएको थियो । ३ खेल बराबरी खेलेको च्यासलको यो आठौं हार हो । लिगअघि प्रशिक्षक बालगोपाल साहुखलले शीर्ष ६ भित्र पर्ने लक्ष्य रहेको बताएका थिए । तर, च्यासल सातदोबाटोविरुद्ध अन्तिम खेल खेल्नुअघि नै रेलिगेसनमा परेको हो ।

२०७३ मा बी डिभिजन जितेर पहिलो पटक ए डिभिजनमा उक्लेको च्यासलले २०७५ र २०७६ मा ए डिभिजन खेलेको थियो । तीन पटक शीर्ष श्रेणीको लिग खेलेपछि च्यासल ‘बी’ डिभिजनमा घटुवा भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको ३८औं मिनेटमा एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका हुन् । कप्तान नथाजियल जर्ज गार्सियाको हेडरलाई फ्रान्कोइसले फस्र्ट टच गोल गरेका थिए ।

पाँचौं मिनेटमा फ्रेन्ड्सका निशेन सुब्बाको सटलाई प्रदिप भण्डारीको हातमा पुगेको हो  । त्यस्तै च्यासलका मोउसा अवगानाको सट बार माथिबाट बाहिरिएको  हो ।

फ्रान्कोइसले ४३औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि फ्रेन्ड्ले अग्रता दोब्बर बनाएको थियो । च्यासलका अभिषेक लिम्बुले ४१औं मिनेटमा जमोल एन्थोनीलाई पेनाल्टी बक्सभित्र लडाए पछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो ।

च्यासलका मोउसा अवगानाले ५६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले ५४औं मिनेटमा राजिव लोप्चनलाई पेनाल्टी बक्स भित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो ।