नेपाली राष्ट्रिय क्रिकेट टोली

नेपालले फिलिपिन्सविरुद्ध रचेका स्मरणीय क्षण

मस्कट । आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा फिलिपिन्सविरुद्ध नेपालले शानदार जित निकाल्यो । नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रियमा हासिल गरेको १ यस ३६ यो तेस्रो ठूलो जित हो । अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि दुई ब्याटर– कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी एक सय ७१ रनको साझेदारी गर्दै हालसम्मकै तेस्रो सर्वाधिक योगफलसम्म डोर्याए । निर्धारित २० ओभरमा नेपालले २ सय १८ रनको योगफल बनाउने क्रममा धेरै सम्झिनलायक क्षणहरू बटुलेको छ । जितसँगै विश्वकप छनोटको सेमिफाइनल पुग्ने सम्भावना बलियाे बनाएकाे नेपालले रचेका केही अविस्मरणीय पलहरू:

कुशलले गरे पारसको कीर्तिमान बराबरी

फिलिपिन्सविरुद्ध एक सय चार रनको अविजित इनिङ खेलेका कुशलले पारसको नाममा रहेको पाँच खेलमा ५० भन्दामाथि रन बनाउने कीर्तिमानसँग बराबरी गरे । पारसले यो कीर्तिमान ३३ अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटमा यो कीर्तिमान बनाएका थिए । तर, कुशलले भने यो कीर्तिमान आठ इनिङमै बराबरी गरे । नेपालका २५ वर्षीय ओपनरले यो कीर्तिमान एकलौटी बनाउने र अझै बलियो बनाउने सम्भावना छ भन्दा फरक पर्दैैन ।

ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी

फिलिपिन्सविरुद्ध दुई सय १९ रनको लक्ष्य प्रस्तुत गरेको नेपालका लागि कुशल र चौथो नम्बरमा ब्याटिङका लागि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीसँग एक सय ७१ रनको कीर्तिमानी साझेदारी गरे । ट्वान्टी २० क्रिकेटमा नेपालले गरेको यो सबैभन्दा ठुलो साझेदारी हो । यसअघि यो कीर्तिमान पारस र आरिफ शेखको नाममा थियो । पारस र आरिफले सन् २०१९ को सेप्टेम्बर २८ मा सिंगापुरविरुद्ध एक सय ४५ रनको अविजित साझेदारी गरेका थिए ।

उक्त खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो । नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रियमा हालसम्म बनाएको तेस्रो ठूलो साझेदारी पनि कुशल र आशिफ शेखको नाममा छ । सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्ध ओपनरद्वय कुशल र आशिफले १ सय १६ रनको साझेदारी गरेका थिए । ओपनिङ जोडीले नेपालका लागि बनाएको सबैभन्दा ठूलो योगफल त्यही हो ।

शतक बनाउने तेस्रो नेपाली ब्याटर- कुशल

कुशल नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो ब्याटर बनेका छन् । यसअघि नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए ।

पारसले सन् २०१९ मा भएको सिंगापुरविरुद्धको खेलमा शतक बनाउँद ज्ञानेन्द्रले सोही वर्षको अन्त्यमा भएको १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत घरेलु मैदानमा भुटानविरुद्ध शतक बनाएका थिए ।

कुशल नेपालका लागि शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडीसमेत बनेका छन् । उनले यो कोशेढुङ्गा २५ वर्ष २८ दिनमा भेट्टाए ।

यसअघि नेपालका लागि पारसले ३२ र ज्ञानेन्द्रले २९ वर्ष उमेरमा नेपालका लागि शतक बनाएका थिए ।

तेस्रो ठूलो लक्ष्य

फिलिपिन्ससामू बनाएको दुई सय १८ रनको योगफल ट्वान्टी २० क्रिकेटमा नेपालको तेस्रो ठूलो योगफल हो । नेपालले यसअघि सन् २०२१ मा घरेलु मैदानमा भएको नेदरल्यान्ड्सविरुद्धको ट्वान्टी २० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो दुई सय ३८ रनको योगफल तयार गरेको थियो । त्यसअघि नेपालले सन् २०१९ मा भुटानविरुद्ध घरेलु मैदानमै भएको खेलमा दुई सय ३६ रनको योगफल खडा गरेको थियो ।

तेस्रो  ठूलो जित

नेपालले शनिबार फिलिपिन्सविरुद्ध हासिल गरेको १ सय ३६ रनको जित ट्वान्टी २० अन्तर्राष्ट्रियमा तेस्रो ठूलो मार्जिनको जित हो । यसअघि नेपालले २०२१ मा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले पराजित गरेको थियो । त्यस क्रममा नेपालले सन् २०१९ मा भुटानमाथि हासिल गरेको १ सय ४१ रनको जितको कीर्तिमान तोडेको थियो ।

नेपाललाई त्यो कीर्तिमान तोड्नका लागि आजको खेलमा कम्तिमा १ सय ४३ रनको मार्जिनमा जित आवश्यक थियो । तर, अन्तिम ओभरमा अविनाश बोहराले १६ रन खर्चेसँगै त्यो कीर्तिमान भङ्ग हुन सकेन ।