विशाल राई

राष्ट्रिय टोलीका मिडफिल्डर विशाल वैवाहिक सम्बन्धमा बाँधिए

तस्विर सौजन्य: रन्जित धिमाल/फेसबुक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई वैवाहिक सम्बन्धमा बाँधिएका छन् ।

झापाका विशाल शुक्रबार इलामकी रविना गुरुङसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् । विशाल र रविना पछिल्लो चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । विशालको राई र गुरुङ दुबै परम्पराअनुसार विवाह सम्पन्न भएको हो ।

राष्ट्रिय टोलीका लागि सन् २०१५ मा भारतविरुद्ध खेल्दै डेब्यु गरेका विशालले ३३ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । विशाल हाल लिग च्याम्पियन मछिन्द्र क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

लजालु स्वभावका विशाल राई कम बोल्छन् । खासै चर्चामा आउन चाहँदैनन् । त्यही भएर नै होला उनी मैदानभित्र या बाहिर खासै अन्य खेलाडीको जस्तो चर्चामा हुन्नन् ।

तर, जिम्मेवारीअनुसारको प्रदर्शनमा भने उनी त्यसको ठीक विपरीत छन्, सधैं अब्बल र निकै प्रतिबद्ध । उनको भिजन र क्रिएटिभिटी उच्च स्तरको भएकैले होला प्रत्येक जसो प्रशिक्षकले उनलाई होल्डिङ मिडफिल्डरको भूमिका दिने गर्छन् । जसमा उनी खरो उत्रने गरेका छन् ।

मनाङ मस्र्याङ्दी क्लबले २०७५ सालमा कीर्तिमानी आठौं पटक सहिद स्मारक ए डिभिजन लिग जित्दाका नायक विशाल लगत्तै वर्ष मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बन्दा र अहिले उपाधि रक्षा गर्दा टोलीका महत्वपूर्ण खेलाडी बनेका छन् ।